१६ चैत्र २०८० शुक्रबार
समाज

आफ्नै माटोमा मग्न उपराष्ट्रपति पत्नी चम्पादेवी

उपराष्ट्रपति पत्नी चम्पादेवी यादव। तस्विरःमिथिलेश यादव/नागरिक

पद प्राप्तीपछि जीवनशैली फेरिएका राजनीतिक परिवार प्रसस्त भेटिन्छन् तर यस भन्दा फरक परिवार मधेस प्रदेशको कलैया उपमहानगरपालिमा बस्छन्। उनी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी पत्नी चम्पादेवी यादव। श्रीमान उपराष्ट्रपति बनेपनि चम्पादेवीको जीवनशैली उस्तै छ, सादगीपूर्ण।

विहान यो सम्वाददाता यादव निवास पुग्दा चम्पादेवी घरधन्दामा मग्न थिइन। नमस्ते हामी पत्रकार, कुरा गर्न मिल्छ म्याडम ? गाइगोठ बढार्दै गरेकि उनी मुस्कुराउँदै स्वागत गरिन,‘प्रणाम, रौवा लोग घरबा भितर आके बैठी न (तपाईंहरु घरभित्र आएर बस्नुस् )।’ छेवैमा राखिएको कुर्सीलाई कपडाले पुछ्दै उनी हामीतिर बढाइन र बस्न आग्रह गरिन्। ग्यास चुल्हो बालेर चिया बसालिन। र, हामीतिर चियाले भरिएको कप बढाउँदै भनिन्,‘ हत्तारमा बनाए, चिया कस्तो बन्यो भन्नु होला है। उनको यो सादगीपूर्ण व्यवहार हामीसँग मात्र नभई यादव निवास आउने हरेकसँग एकनास रहेको छिमेकीहरु बताउँछन्।  

कलैया उपमहानगरपालिकाको कार्यपालिका भवनबाट उत्तरपश्चिम साघुँरो गल्लीबाट ‘सय मिटर पश्चिम जस्तापाताले छाएको सानो घरमा बस्छिन् उपराष्ट्रपति पत्नी चम्पादेवी। घरमा गाईवस्तु र खेतीबारी स्याहार्छिन्। उनी त्यसमै आनन्द अनुभूति गर्छिन्।  

श्रीमान उपराष्ट्रपति बनेपछि मन मारेर उनी काठमाडौँ पुगिन। पहिलो पटक जहाजको यात्रा गरिन। उपराष्ट्रपति निवास ग्रीन हाउस पुगिन। सपथ ग्रहण सामारोहमा स्टेजमै बसिन। यी सब उनका लागि रमाइलो भन्दा उकुसमुकुसपूर्ण थियो। त्यही भएर उनी काठमाडौंको चकाचौंध छाडेर तीन दिनमै गाउँ फर्किइन।  

उनी घर छाडेर उपराष्ट्रपति श्रीमानको शपथग्रहण कार्यक्रममा समेत काठमाडौँ जान चाहेकी थिइनन्। शपथग्रहणमा ‘श्रीमतीको उपस्थिति अनिवार्य’ छ भनेपछि मात्र उनी काठमाडौँ आउन मानेकी थिइन। सपथग्रहणको अघिल्लो दिन उनी सिमराबाट जहाज चढेर काठमाडौंको डेरा पुगेकी थिइन। डेरामा छोराछोरीसँग बसेर भोलिपल्ट बिहान मात्र उनी उपराष्ट्रपति निवास ग्रीन हाउस पुगेकि थिइन।

त्यहाँबाट शपथग्रहण समारोहमा सहभागी भइन। र, सपथग्रहण सकेकै दिन उनी घर फर्किन चाहेकि थिइन। घरमा कोही छैन, गाईवस्तुको कस्तो भइरहेको होला ? खेतीपाती कसले हे¥यो होला भन्दै चिन्ता लागेको थियो चम्पादेवीले भनिन्,‘घर सुनसान छोडेर बाहिर बस्न कहाँ मन लाग्छ र !’  

चम्पादेवी श्रीमानको सपथग्रहणमा काठमाडौं जाँदा छिमेकी हिरालाल प्रसाद साहलाई घरको साँचो दिएकि थिइन। उनले गाइबस्तुको हेरचाह गरिदिएका थिए। अर्की छिमेकी प्रभावत्तीदेवीले खेतखलिहान हेरिदिने गरेकि थिइन।  

चम्पादेवीका लागि श्रीमानको उपराष्ट्रपति पद भन्दा आफ्नै गाई र खेतबारी प्यारो छ। उनले भनिन्, ‘उपराष्ट्रपति सधैँका त होइन नि ! पाँच वर्षका लागि यो पद हो त्यसपछि त फेरी गाउँकै भर पर्नुपर्छ। मेरो लागि परिवार प्यारो छैन भने होइन तर परिवार पनि यही खेतीपातीमा अडिएको छ उनले भनिन्,‘ मँ खेतीपाती र घरधन्दामै रमाएको छुँ।’

चम्पादेवी बस्ने घरको पूर्वपट्टि इसलाम मियाँको घरसम्म पक्की सडक छ। उनको घर अगाडिको सडक कच्ची छ। घरको पश्चिमतर्फ रहेको पोखरी पाँच वर्षसम्म चम्पादेवीले ठेक्कामा माछा पालन गरेकि थिइन। उनीले ठेक्का छोड्दा अहिले यो पोखरी सुकेको छ।

पाँच दिनअघि मात्र उनको नयाँ दुई कोठे पक्की घरको छत ढलान भएको छ। कलैया उपमहानगरको पूर्वपट्टि उनको एक तल्ले दुई कोठाको पक्की घर बन्दैछ। उनी काठमाडौंबाट फर्केलगतै घरको छत ढलान गरेकि छिन्। उनको घरमा एउटा बाछी छ। बाख्रा पनि छन्। पाँच बिघा खेतीपाती पनि छ। यो सब चम्पादेवी एक्लैले सम्हालेकि छिन्। खेतीपाती मजदुर लगाएर गराउँछिन्। घरधन्दा आफैं गर्छिन्। उनी भन्छिन्,‘घर,खेतीपाती, बाछी सबै कुरालाई त्यतिकै छाडेर काठमाडौँ बस्न मन लाग्दैन। उनले भनिन्,‘ तपाईं नै भन्नुस् घर छोडेर डेरामा बस्न कसलाई मन लाग्छ।’

श्रीमान्, छोराछोरी काठमाडौँमा नै बसिरहेका कारण कहिलेकाहीँ आउने जाने गर्ने उनले बताइन्, ‘तर सधैँका लागि त्यहाँ बस्दिनँ। मालिक (श्रीमान्) र बबी छोरा(छोराछोरी) त्यहाँ छन्, त्यसैले काठमाडौँ जाँदै नजाने कुरै हुँदैन। तर काठमाडौँमा भन्दा मलाई  आफ्नो घर कलैयामा आनन्द लाग्छ।’

उपराष्ट्रपति यादव वन तथा वातावरण मन्त्री भएको बेला पनि चम्पादेवीलाई काठमाडौँ ल्याउन निकै प्रयास भएको थियो। मन्त्री क्वाटर निकै ठुलो छ , रमाइलो छ जाऔँ, त्यहीँ बसौँला छोराछोरीले निकै जिद्धि गरेको सम्झिँदै उनले भनिन्,‘मँ घरधन्दा समेटेर पछि आउँछु भन्दै टारिदिए।’ तर मालिक(श्रीमान) उपराष्ट्रपति बनेपछि  शपथग्रहणमा श्रीमती उपस्थित हुनैपर्ने भनेपछि नाई भन्न सकिन, उनले भनिन्।’  

उनी काठमाडौँमा नबसेकि पनि होइन। २०६४ मा रामसहाय यादव संविधानसभा सदस्य भएपछि चम्पादेवी एक वर्ष काठमाडौं बसेकि थिइन्। उनी काठमाडौं बस्दा घर, खेतीपाती सबै अस्तव्यस्त भयो। आर्थिक अवस्था बिग्रिँदै गएपछि उनी गाउँ फर्किइन। र, गाईवस्तु पाल्न थालिन्। खेतीपाती आफैं गर्न थालिन। त्यसबाट घरको आर्थिक अवस्थामा राम्रो भयो।  

संविधान सभा सदस्यबाट हटेपछि रामसहाय यादव चम्पादेवीमा नै निर्भर भए। चम्पादेवीले पालेको गाईभैँसी र बाख्राबाट हुने आम्दानीले घर चल्थ्यो। पछिल्लो चुनावमा पनि एक लाख पर्ने एउटा भैँसी ६० हजारमा बेचेर रामसहाय यादवलाई उनले दिएकी थिइन्। ०७४ को चुनावमा उनले एक कठ्ठा घरेडी बेचेर श्रीमानलाई चुनाव लड्न सहयोग गरिको बताइन।

छोराछोरी पनि चम्पादेवीकै सहयोगमा पढेका हुन्। उनको एउटा छोरा र एउटी छोरी इन्जिनियर पढेका छन्। दुबै लोकसेवाको तयारी गर्दै छन्। कान्छो छोरा कलेज पढ्दैछन्। खेतीपातीको आम्दानीले उनको बालबच्चा काठमाडौं बसेर पढ्न पाएका छन्। त्यही भएर अहिले पनि उनी त्यो ठाउँ छाड्न चाहेकी छैनन्।

१८ वर्ष कलैयाकै पन्नालाल कन्यादेवी विद्यालयमा विज्ञान र गणित विषयमा अध्यापन गराएका रामसहाय प्रसाद यादव २०६२÷०६३ को आन्दोलनदेखि सक्रिय राजनीतिमा लागे। यादव राजनीतिमा सक्रिय भएपछि घरव्यवहार, बस्तुभाउ, खेतीपाती सबै चम्पादेवीले एक्लै धान्दै आएकी छन्।

‘स्कुलमा पढाउँदा पढाउँदै मालिक(श्रीमान) राजनीतिमा लाग्नुभयो, छोराछोरी हुर्काउनेदेखि लिएर उनीहरुको पढाइलेखाइ, घर व्यवहार, खेतीपाती सबै मैले हेर्दै आएको धेरै वर्ष भइसक्यो,’ चम्पादेवीले भनिन्, ‘राजनीति गरेर धेरैले पैसा कमाए, उहाँले नाम कमाउनु भयो। मलाई मेरो मालिक(श्रीमान)ले कमाएको नामले पैसाभन्दा कैयौं गुणा बढी खुसी दिन्छ, गर्व अनुभूति गराउँछ।’

मेरो मालिकले यसै गरी नाम कमाउन भनेर मैले घरव्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएको छुँ उनले भनिन्,‘अब मेरो मालिक देश सम्हाल्नुहुन्छ र म मेरो घर सम्हाल्छु।’

आइतबार उपराष्ट्रपति रामसहाय यादव गढीमाई नगरपालिकाको स्वागत कार्यक्रम र गढीमाई मन्दिर दर्शन गरी सोमबार कलैयाको धार्मिक कार्यक्रममा सहभागी भए। श्रीमान दुई दिन कलैया र गढिमाईको कार्यक्रममा सहभागी भइरहँदा चम्पादेवी घरधन्दामा व्यस्त थिइन।  

गाउँमै उपराष्ट्रपतिज्यू आउनुभयो भेंट्न जानु भएन प्रश्नमा चम्पादेवीले भनिन्,‘मालिक(उहाँ) काममा आउनुभएको हो, त्यहाँ मेरो के काम ? मँ गइनँ उनले भनिन्,‘यहाँ घरधन्दाबाट मलाई फुर्सद नै भएन।’

करिब एक घण्टा यादव निवासमा चम्पादेवीसँग कुराकानी गर्दा उनको टाउँकोबाट एक क्षणका लागि पनि घुम्टो हटेन। घुम्टोबारे उनको प्रष्ट विचार छ– ‘टाउकोमा साडी राख्नु हाम्रो संस्कार हो, यसलाई कसरी छोड्न सक्छु।’

प्रकाशित: १५ चैत्र २०७९ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App