१६ चैत्र २०८० शुक्रबार
समाज

जुम्लामा मार्सी धानको खेती सुरु, कसरी गरिन्छ खेती ?

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये एक 'मार्सी धान' को खेती सुरु भएको छ।

नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ। यहाँका किसानले शनिबारदेखि मार्सी धानको बीउ राख्न थालेका हुन्।

धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुवातीका रुपमा लिने गरिन्छ। यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ।

विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा सबैभन्दा बढी खेती हुन्छ। हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ।

त्यस्तै चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ। चैत १२ गतेलाई यहाँको परम्परागत चलन अनुसार ‘बारुवा’ पनि भनिने गरिन्छ।

चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ। मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ। यसको रातो भातको खीर निकै स्वादिलो हुन्छ। घरका सबै दिदीबहिनी एक आपसमा चिउरा कुट्ने चलन छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा २ हजार ८०० हेक्टरमा धान खेती हुन्छ।

खेतीको विधि

जिल्लाका आठ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ। सो धान पाक्न सात महिना लाग्छ। चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ।

वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ। त्यसपछि बीउ हरियो हुन्छ। भेडा बाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ। एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ। जौ काट्दै सँगसँगै रोपाइँ गरिन्छ। जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन। नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ। असारदेखि मध्ये साउनसम्म गोडमेल गर्नुपर्छ।

भदौमा झारजङ्गल काट्नुपर्छ। कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ। खेतमा पानी भने खाली गर्नुहुँदैन। पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ। मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषा विज्ञ रमानन्द आचार्यले बताए। नेपालमा असार १५ गते धान दिवस मनाउने गरिएता पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ।

यो वर्ष संघीय सरकारले पनि सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: १२ चैत्र २०७९ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App