८ वैशाख २०८१ शनिबार
समाज

चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आइजिपी

नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्। २९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा गएका छन्। सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको थियो।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी पोषराज पोखरेलले नयाँ आइजिपीले आइतबार पदभार सम्हाल्ने जानकारी दिए। कुँवरले आइतबार गृह मन्त्रालयमा गएर आइजिपीको दज्र्यानी चिह्न ग्रहण गर्नेछन्। त्यसपछि उनले प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हाल्ने प्रवक्ता पोखरेलले बताए।

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने, अपराध न्यूनीकरण, अनुसन्धान र तहकिकात गर्ने, मानवअधिकार संरक्षण गर्ने, सरकारका आदेश, निर्देशन र कानुन परिपालन गरी जनतालाई प्रत्यक्ष रूपमा राज्यको अनुभूति दिलाउनेलगायतका भूमिका निर्वाह गर्ने दायित्व भएको प्रहरी संगठन र नेतृत्वप्रति सबै पक्षबाट चासो र निगरानी हुन्छ। संगठनको नेतृत्वमा पुग्ने सपना प्रहरी सेवामा प्रवेश गर्ने सबैको भए पनि थोरैले मात्र यस्तो अवसर पाउँछन्। यसका लागि अनेक तिकडमबाजी, जालझेलसमेत भएको इतिहास छ। तर यसपटक कुँवरले भने तुलनात्मक रूपमा सहज र कतिपय जानकारहरूका अनुसार ‘सरप्राइज’ नेतृत्व पाएका छन्।

नेतृत्वमा पुगेका कुँवरका सामु चुनौतीका चाङ छन्। उनी चुनौतीलाई कसरी अवसरमा बदल्दै अघि बढ्छन् भन्ने भविष्यले देखाउनेछ। विवादरहित ढंगले आइजिपीमा बढुवा भएका कुँवरको काँधमा चुनौती चिरेर संगठन चलायमान बनाउने अवसर आएको पूर्वडिआइजी केशव अधिकारी बताउँछन्। ‘विवादरहित तरिकाले उहाँले जिम्मेवारी पाउनुभएको छ। जुन आफैंमा ठुलै अवसर हो,’ अधिकारीले भने, ‘तर चुनौतीलाई व्यवस्थापन गर्न नसके समस्या हुन सक्छ।’

सफलता पाउन दज्र्यानी चिह्न लगाएर गएदेखि नै वरिष्ठ प्रहरी अधिकृतदेखि सकल दर्जासँग सहज तरिकाले समन्वय गर्नुपर्ने अधिकारी बताउँछन्। ‘आसेपासेले बिगार्न सक्ने र गलत ट्र्याकमा लैजान सक्ने भएकाले त्यसमा सुरुदेखि नै उहाँ बच्नुपर्छ,’ उनले भने। अधिकारीले भनेजस्तै आइजिपी कुँवर आफ्नै ब्याचका अधिकृतहरूसँग राम्रो सहकार्य गरेर अघि बढ्नुपर्छ। विवादरहित नियुक्ति भएकाले सुरुदेखि नै सबैलाई मिलाएर उहाँ अघि बढ्नुपर्छ, यो अवसर सदुपयोग गर्न चुक्नु हुन्न।

आइजिपी कुँवरका सामु अर्को चुनौती राजनीतिक हस्तक्षेपबाट प्रहरीको व्यावसायिक मर्यादा जोगाउँदै संगठनलाई पारदर्शी ढंगले चलायमान बनाउने रहेको छ।

नेपाली कांग्रेससँग निकटता रहेको भनिएका उनलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आइजिपीमा बढुवा गरेको हो, जुन उनका लागि अवसर हुनेछ। यही अवसरबाट पाठ लिएर उनले अनुचित राजनीतिक दबाबबाट मुक्त हुँदै काम गर्न सक्छन्।  

राजनीतिक दल र गृह मन्त्रालयको अनुचित दबाबमा ‘भद्र विमति’ राखेर अगाडि बढ्न आइजिपी कुँवरलाई पूर्वडिआइजी अधिकारीको सुझाव छ। ‘राजनीतिक हस्तक्षेप एकातिर हुन्छ नै अर्कोतिर गृह मन्त्रालयको पनि प्रहरीप्रति हेपाहा र दबाबमा राख्ने प्रवृत्ति हुन्छ। कतिपय अवस्थामा आइजिपीको अधिकार नै कुल्चेर निर्देशनसम्म आउँछ,’ अधिकारीले भने, ‘जसमा उहाँ भद्र विमति राखेर अगाडि बढ्न सक्नुपर्छ। आफू र मातहतका अधिकारीलाई सांगठनिक अनुशासनमा राखेर पनि त्यस्ता नाजायज दबाब र संगठनभित्रका विकृति घटाउन सकिन्छ।’

प्रहरीभित्र सरुवा/बढुवामा रहेको विकृति हटाउने, व्यावसायिक दक्षता बढाउने, अनुचित आर्थिक लाभ उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहन गरी संगठनलाई अघि बढाउने चुनौती पनि आइजिपी कुँवरका सामु छ। ‘अहिले प्रहरीभित्र भविष्य नदेखेर पलायन हुने कर्मचारीको दर बढेको छ। सकल दर्जाभित्र अक्सरले आफ्नो भविष्य देख्दैनन्। अनि कि जागिर छाड्छन्, कि अनुचित काम गर्छन,’ पूर्वडिआइजी अधिकारी भन्छन्, ‘त्यसका लागि आइजिपीले करिअर प्लानमा जोड दिनुपर्छ। सकल दर्जामा आशाको सञ्चार गर्नेगरी योजना बनाएर कल्याणकारी योजना पनि अगाडि सार्नुपर्छ।’

प्रहरी संगठनलाई आधुनिक युग सुहाउँदो बनाउने र सूचना प्रविधिसँग जोड्नुपर्ने अर्को चुनौती नयाँ आइजिपी कुँवरका सामु छ। सूचना प्रविधिसँग जानकार जनसंख्या बढ्दैगर्दा अपराध पनि सोही प्रकृतिका रूपमा विकसित भइरहेको छ। त्यसको अनुसन्धानका लागि प्रहरी जनशक्ति निर्माणमा पनि आइजिपीले जोड दिनुपर्नेछ।

कुँवर प्रहरी सेवामा व्यावसायिक अधिकृतका रूपमा परिचित भएकाले उनी चुनौतीसँग जानकार छन्। उनले भने, ‘प्रहरीका राम्रा नराम्रा सबै पक्ष, प्रहरीको सुधार र सेवाको प्रभावकारीता विषयमा म जानकार नै छु। त्यसका लागि मेरो कार्यकालभरि सकेको प्रयास गर्छु’, कुँवर भन्छन्। समग्रमा सरकारले अगाडि सारेको सुशासनसहितको समृद्धि र विकासलाई ध्यानमा राखेर आफूले काम गर्ने उनले बताए। ‘सरकारी कन्सेप्टलाई कार्यान्वयन गर्ने इफेक्टिभ निकाय प्रहरी हो, जुन पूरा गर्न सकिन्छ,’ उनले भने।

नागरिकले खोजेजस्तो गुणस्तरको प्रहरी संगठन बनाउन आफूले प्रयास गर्ने कुँवरले बताए। ‘त्यसका लागि हामीसँग भइरहेको संरचना र पूर्वाधारको उच्चतम उपयोग गर्दै अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने काम गर्ने छु। संगठनलाई चुस्त बनाउने छु,’ उनले भने, ‘प्रहरीलाई व्यावसायिक बनाउन आन्तरिक शुद्धीकरण गर्दै आर्थिक, आचारण व्यवहार, कर्तव्य पालन गराउन प्रयास गर्ने छु। राम्रोलाई पुरस्कृत र नराम्रोलाई कारबाही हुनेछ।’

प्रहरीलाई आधुनिकीकरण गर्ने र व्यावसायिक दक्षता अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गर्ने उनको योजना छ। उनले भने, ‘समय र आधुनिक प्रविधि सुहाउँदो प्रहरी संगठन बनाउन सीप तथा दक्षता विकासका तालिम सञ्चालन गर्ने छु।’ सरकारसँग समन्वय गरी प्रहरी संगठनमा सुधार र आर्थिक विचलन रोक्न मातहतका कर्मचारीको वृत्ति विकास र मनोबल बढाउने योजना सञ्चालन गर्ने उनले बताए।  

प्रकाशित: १२ चैत्र २०७९ ००:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App