७ वैशाख २०८१ शुक्रबार
समाज

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा अश्रुग्याँस प्रहार

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भए पनि कोही घाइते नभएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी रन्जीतकुमार दाहालले बताए। दाहालका अनुसार प्रहरीले हवाई फायर भने नगरेको र  कसैलाई पनि नियन्त्रणमा लिएको छैन।

‘केही सेल अश्रुग्याँस प्रहार भएको छ’ उनले भने‘ तर, हवाईफायर गरिएको छैन। कसैलाई पनि नियन्त्रणमा लिइएको छैन।’

विराटनगरमा गरिएको प्रदर्शनमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन्। उनीहरुले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन्। प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। कोशी प्रदेश नाम खारेजको माग गर्दै प्रदेश १ का विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूले विराटनगरमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ५ चैत्र २०७९ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App