१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाम नगरको निर्णयमै भ्रम छर्ने प्रयास, प्रवक्ताले दिए गलत सूचना

इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल दर गत माघ ५ को १० औं कार्यपालिका बैठकबाट बढायो। तर, यो निर्णय कतै सार्वजनिक गरिएन। उपभोक्ताले पानीको महसुल बढी उठाएको भन्दै चौतर्फी विरोध जनाएपछि महसुल बढाइएको प्रमाणित भयो। त्यति मात्र भएन, माघमा महसुल बढाएर मंसिरदेखिकै महसुल बढेकै दरमा लिइएको समेत पाइयो।

शनिबार बसेको १३ औं कार्यपालिका बैठकले माघ ५ को १०औं कार्यपालिका बैठकले बढाएको महसुल दर फिर्ता लियो र साबिककै दर कायम गर्‍यो। तर, शनिबारको बैठकपछि सार्वजनिक गरिएको निर्णय सूचीमा १० औं बैठकले महसुल बढाएको बारे कतै उल्लेख गरिएन। बरु, आफूहरू निर्वाचित भएर आउनुभन्दा अघिकै मितिमा निर्धारित महसुल उठाइएको र उपभोक्ताले गुनासो गरेकाले अहिले साबिककै दर कायम गरिएको अर्थ लाग्ने गरी निर्णय सार्वजनिक गरिएको छ।

‘नगरको २०७८/३/१० को नवौँ नगर सभाबाट इलाम बजार सहरी खानेपानी आयोजनाका लागि स्वीकृत भएको खानेपानी महसुलको दररेट र सोही दररेटलाई यथावत् रूपमा ०७९/३/१० को नगर सभाले समावेश गरेको दर-रेटसमेतलाई आधार मानी खानेपानी उपभोक्ता समितिबाट सिफारिस भएको महसुल दर अनुसार खानेपानी महसुल असुल गर्दै आएकामा’ भन्ने शब्द शनिबारको बैठकपछि सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ।

०७८ असार १० मा यसअघिका जनप्रतिनिधि कार्यरत थिए भने त्यही निर्णयलाई ०७९ असार १० (आफूहरू निर्वाचित भएर आएपछि) ‘यथावत् रूपमा नगर सभाले समावेश गरेको’ शनिबारको बैठकको निर्णयमा उल्लेख छ।

निर्णयमा लेखिएको यो जानकारी भ्रमपूर्ण देखिएको छ। किनभने, नगरले मंसिर, पुस र माघको खानेपानी महसुल नै माघ ५ मा बढाएकै दरमा उठाएको छ, त्यसअघिको दरमा होइन।

नगर प्रवक्ता तथा वडा ४ का वडाध्यक्ष नुतनदेव दुलालले समेत १०औं कार्यपालिका बैठकले खानेपानी महसुल दर नै नबढाएको, यसमा दर बढाइएको भनेर ‘गलत म्यासेज’ गइरहेको दाबी गरे। 

‘माघ ५ को १०औं कार्यपालिका बैठकले खानेपानीको महसुलबारे निर्णय नै गरेको छैन,’ दुलालले शनिबार नागरिक न्युज संवाददातासँग टेलिफोनमा भने, ‘गत माघ ५ को बैठकको निर्णय एकचोटी राम्रोसँग हेरिदिनुस्, हामीले महसुल बढाएका छैनौँ। पुरानै दरमा उठाइरहेका छौँ।’

तर, उनले यसो भनेको केही मिनेटमै नगरपालिकाले वेबसाइटमा १० औं बैठक र माघ २५ मा बसेको ११ औं कार्यपालिका बैठकको निर्णय अपलोड भयो। वेबसाइटमै राखिएको १० औं कार्यपालिका बैठकको निर्णय नम्बर ११ मा खानेपानीको महसुल दर बढाउने निर्णय उल्लेख छ। सहरी खानेपानी आयोजनाको वितरण प्रणालीबाट खानेपानी वितरणको कार्य सुरु भइसकेकाले मूल्य समायोजन गर्न आवश्यक भएका कारण महसुल थप गर्नुपरेको त्यही निर्णयमा उल्लेख छ। जबकि, शनिबारको १३ औं बैठकको निर्णय सूचीमा ‘आयोजनाको मुहानको निर्माण कार्य पूर्ण रूपमा पूरा भई नसकेको’ समेत आफैँ स्विकारिएको छ। उपभोक्ताले पनि पुरानै मुहानको पानी पुरानै पाइपमा जस्बिरेको ट्यांकीसम्म ल्याएर वितरण गरी नयाँ पानीको नाम दिएर महसुल बढाइएको भन्दै विरोध जनाइरहेका छन्।

कार्यपालिकाले गरेका निर्णय केही समयमै वेबसाइटमा अपडेट गर्ने गरेको नगरपालिकाले पुस २८ मा भएको नवौँ कार्यपालिका बैठकको निर्णय वेबसाइटमा राखेको छ। तर, १० औं, ११औं र १२ औं कार्यपालिका बैठकका निर्णय भने शनिबार (चैत ४) सम्म वेबसाइटमा अपलोड नै गरिएको थिएन। शनिबार बिहान भने १० औं र ११ औं कार्यपालिकाको निर्णय पनि अपलोड गरिएको छ। १३औं बैठकले खानेपानी महसुल घटाएपछि मात्र यसअघि महसुल बढाएको बैठकसहितका निर्णय वेबसाइटमा राखिनुले नगरले गरेका निर्णय सार्वजनिक नगर्नुमा समेत सन्देह उत्पन्न भएको छ।

इलाम नगरले खानेपानीको महसुल बढाउने निर्णय गरेको तर यो निर्णय सार्वजनिक नगरी ‘गुपचुप’ राखेको समाचार चैत १ गते नागरिक न्युजले ‘ब्रेक’ गरेको थियो।

एसियाली विकास बैंक (एडिबी) को ७० प्रतिशत, उपभोक्ताको ५ प्रतिशत लगानी र नगर विकास कोषको २५ प्रतिशत ऋणमा इलाम सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन छ। आयोजनाको ९८ प्रतिशत काम सकिएको निर्माण पक्षले बताइरहँदा यसको गुणस्तरलाई लिएर उपभोक्ताले प्रश्न उठाइरहेका छन्। 

प्रकाशित: ४ चैत्र २०७९ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App