१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपभोक्ताको विरोधपछि इलाम नगरले घटायो खानेपानी महसुल

इलाम नगरपालिकाले आफुले  ‘सुटुक्क’ बढाएको खानेपानी महसुल घटाउन बाध्य भएको छ। शनिबार बसेको १३औं कार्यपालिका बैठकले गत माघ ५ को निर्णय फिर्ता लिएको हो।

बढेको महसुलको ठाउँमा साबिककै दर कायम गर्ने र बढेको महसुल भुक्तान गरिसकेका ग्राहकको रकम पछिको बिलमा समायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।

खानेपानी सम्बन्धी उपभोक्ताबाट उठेका गुनासो सम्बोधनका लागि सम्बन्धित वडाले गुनासो सुनुवाइ टोली गठन गर्ने, उपभोक्ताको गुनासो तुरुन्त र प्रभावकारी सम्बोधनका लागि आयोजना, निर्माण व्यवसायी, परामर्शदाता, उपभोक्ता समिति र सम्बन्धित सबै पक्षसँग समन्वय, सहयोग गर्न सबै वडा र शाखा परिचालन गर्ने निर्णय बैठकले गरेको छ। 

इलाम नगरले खानेपानीको महसुल बढाउने निर्णय गरेको तर यो निर्णय सार्वजनिक नगरी ‘गुपचुप’ राखेको समाचार चैत १ गते नागरिकन्युजडटकमले ‘ब्रेक’ गरेको थियो। महसुल बढाउने निर्णयमा उपभोक्ताले चौतर्फी विरोध जनाएपछि नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको हो। 

एसियाली विकास बैंक (एडिबी) को ७० प्रतिशत, उपभोक्ताको ५ प्रतिशत लगानी र नगर विकास कोषको २५ प्रतिशत ऋणमा इलाम सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन छ। आयोजनाको ९८ प्रतिशत काम सकिएको निर्माण पक्षले बताइरहँदा यसको गुणस्तरलाई लिएर उपभोक्ताले प्रश्न उठाइरहेका छन्। नगरपालिकाले चाहिँ परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभोक्ताको धारामा नखस्दै महसुल बढाएर यो निर्णय सार्वजनिक नगरी राखेको थियो। गत माघ ५ को १०औं नगर कार्यपालिका बैठकले गरेका निर्णय सुनाउन ७ गते नगरले पत्रकार सम्मेलन नै आयोजना गरेपनि खानेपानीको महसुल बढाउने निर्णय चाहिँ सार्वजनिक गरिएको थिएन।

नगरले माघमा महसुल दर बढाउने निर्णय गरेर मंसिरदेखिको महसुल बढेकै दरअनुसार लिएको थियो। त्यति मात्र होइन, प्रत्येक महिना खानेपानीको मिटर रिडिङ गर्नुपर्नेमा मंसिर, पुस र माघको रिडिङ फागुनमा एकै पटक गरेर बढेकै दरअनुसार तीनै महिनाको बिल उपभोक्तालाई थमाइएको थियो।

अब साविकदरमा ८ युनिटसम्मको न्यूनतम महसुल अढाई सय नै छ। ८ देखि १० युनिटसम्मको महसुल दर प्रतियुनिट २५ रुपैयाँ कायम भएको छ। यो दर ३५ रुपैयाँ पु¥याइएको थियो। साविकको दर १० देखि १५ युनिटसम्मको प्रतियुनिट ३० छ। यो दर पनि बढाएर ४५ रुपैयाँ बनाइएको थियो। अब १५ देखि २० युनिटसम्मको ४०, २० देखि ३० युनिटको प्रतियुनिट ५०, ३० देखि सय युनिटसम्मको ५५ र सय युनिटभन्दा माथिको प्रतियुनिट ६० रुपैयाँ नै कायम भएको छ। 

प्रकाशित: ४ चैत्र २०७९ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App