३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

जोखिममा चमेरो संरक्षण क्षेत्र

९ वर्ष अघि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ देवगढीया स्थित बगैचा क्षेत्रलाई घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र जोखिममा परेको छ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक नेपालमै पहिलो पटक घोषणा गरिएको चमेरो संरक्षण क्षेत्र जोखिममा परेको हो। चमेरो लोप हुन थालेपछि २०७० मा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका –३ देबानगढीयामा एक हेक्टर क्षेत्रफललाई संरक्षण क्षेत्र घोषणा गरिएको थियो। देवनगढीयाको बगैचामा रहेको विभिन्न रुखहरु चमेराको बासस्थान हो। चमेरोलाई दुई प्रकार मांसाहारी र फलाहारी चमेरामा वर्गीकरण गरिएको छ। मांसाहारी चमेरो कीरा, फट्याङग्रा खाएर जीवन निर्वाह गर्छ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्ने गरेको चराविद्हरुको भनाइ छ।

पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव चमेरा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। देवानगढियास्थित पोखरीको डिलमा रहेको रुखमा करिब ५ सयको हाराहारीमा चमेरा बस्छन्। संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाको बेवास्ताका कारण चमेरा सङ्कटमा परेको स्थानीयले बताएका छन्। जैविक विविधताका दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको चमेराको संरक्षण नगरिए नेपाल बाटै चमेरा लोप हुने अवस्थामा पुगेको स्थानीय शम्भु शैनीले बताए।

वासस्थानका कारण पनि चमेरा लोप हुन थालेको उनले बताए। ‘संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाले वास्ता नगर्दा यहाँ रहेको चमेराहरू सङ्कटमा परेका छन्’ उनले भने। सिंह परिवारको ब्यक्तिगत जग्गामा रहेको बगैचामा चमेराहरु छन्। विश्व भरी करिब एघार सय प्रजातिका चमेराहरू पाइने गरेको छन्। नेपालमा ५३ प्रजातिका चमेरा पाइने गरेको चराविद् भूपाल नेपालीले बताए। विशेषगरी कपिलवस्तुको देवानगढियामा राज चमेराको वासस्थानका साथै प्रजनन क्षेत्र रहेको उनले बताए।

चमेरो संरक्षणका लागि सरोकारवालासँग छलफल गरी संरक्षण गर्ने कपिलवस्तु नगरपालिका ३ का वडा अध्यक्ष प्रकाश गैरले बताए। नीति बनाएर संरक्षणका लागि पहल गर्ने उनले बताए। डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले देवनगढीयामा रहेको चेमरा संरक्षण क्षेत्रको विकासकालागि यस वर्ष केही काम गरिने बताए।

उनले चमेरो संरक्षणकै लागि बजेट नभए पनि कार्यालय कै तर्फबाट केही बजेट छुट्टाएर काम गरिने बताए। विश्वमै दुर्लभ मानिने रातमा ९० प्रतिशत र दिनमा १० प्रतिशत मात्र उज्यालो हेर्न सक्ने स्तनधारी चमेरो अहिले कपिलवस्तु जिल्लाका विभिन्न ठाउँको रुखमा झुन्डिएका देखिन्छन्।

फलाहारी चमेराले वनजंगल जोगाउन र बीउ विजन परागसेचन गरेर फूलहरुको फर्टिलाइजेसन गर्न समेत मद्दत गर्छ। त्यसै गरी मांसाहारी चमेराले पनि विभिन्न अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर कृषकलाई सहयोग गर्ने गरेको चराविदहरुको भनाइ छ।    

प्रकाशित: १ चैत्र २०७९ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App