८ वैशाख २०८१ शनिबार
समाज

सगरमाथामा आरोहण मार्ग बनाउन सुरु

तस्बिर: गुणराज लुइँटेल/नागरिक

हरेक वर्षको दुई ऋतुमा सगरमाथा आरोहणका लागि बाटो तयार गर्ने गरिएकोमा यस वर्ष वसन्त ऋतुको लागि बाटो बनाउने काम सुरु भएको छ। गत शुक्रबारदेखी सुरु भएको यो अभियान १ महिनासम्म निरन्तर जारी रहने छ।

सगरमाथा आरोहणको बाटो (रुट) बनाउने जिम्मा पाएको निकाय सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार यस पटकको हिउँदमा पर्याप्त हिउँ नपरेको कारणले बाटो बनाउन कठिन देखिएको छ।

समितिका कार्यकारी प्रमुख छिरिङ शेर्पाले भने ‘आरोहणका लागि खोलिने बाटोमा खाल्टा खुल्टी पर्ने र हिउँ थुप्रिएर अवरुद्ध हुने भएकाले हरेक वर्ष नयाँ बाटो तयार गर्नुपर्ने हुन्छ।’ 

हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहनु बाटो बनाउनुपर्ने अर्को कारण हो, कार्यकारी प्रमुख शेर्पाले भने।

उनका अनुसार सगरमाथा आरोहणका लागि बाटो सुरक्षित बनाउन भर्‍याङ, डोरी लगायतका सामग्री प्रयोग गरिन्छन्। यो कार्य आई सफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) ले गर्दछन्। यस क्षेत्रमा बाटो बनाउन १० सदस्यीय टिम रहेका छन्। तीमध्ये आठ सदस्यीय अनुभवी आई सफल डाक्टरहरु यस ऋतुमा बाटो बनाउने कार्यका लागि खटिएका छन्।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आइरहेको छ। एसपीसीसीले सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्म जाने बाटो तयार गरिसकेपछि सो भन्दा माथिको बाटो निर्माण गर्ने कार्य भने आरोहण व्यवसायीहरूको संयोजनामा हुने कार्यकारी प्रमुख शेर्पाले बताए।

प्रकाशित: २८ फाल्गुन २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App