५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गौर कारागारका सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न

जिल्ला कारागार गौरको सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न उठेको छ। कारागारभित्र जेल जीवन बिताइरहेका एक अपराधी रक्सी खाएर सवारी दुर्घटनामा कारागारभन्दा कैयौं किलोमिटर टाढा गम्भीर घाइते भएको घटनाले कारागारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो।

जिल्ला कारागारमा लागुऔषध मुद्दामा १५ वर्ष जेल सजाय भोगिरहेका बारा जिल्लाको भटिनियानिवासी पवन यादवको मोटरसाइकल दुर्घटना भएको र जेलजीवन बिताइरहेका यादव गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ।

गत बुधवार होलीको दिन यादवले चलाइरहेको मोटरसाइकल रौतहटको परोहा नपा–४ लौकाहा बजारमा दुर्घटना भएको थियो। अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित यादवको मोटरसाइकल दुर्घटना भई यादव गम्भीर घाइते भएका थिए। यादवको उपचार वीरगन्जमा भइरहेको छ। यादवको खुट्टा भाँचिएको छ। पाँच लाख रूपैयाँ जरिवाना र १५ वर्ष जेल सजाय पाएका यादव कारागारबाट बाहिर निस्केर अर्को जिल्लास्थित आफ्नो घरसम्म पुगेर होली मनाई फर्किने क्रममा दुर्घटना भएको थियो।

जिल्ला कारागार कार्यालय गौरका प्रहरी प्रमुख तेजीलाल यादवले कारागार प्रमुखसित सल्लाह नै नगरी कैदी बन्दी यादवलाई बाहिर पठाएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढा मगरले सई यादवलाई कारबाहीका लागि जिल्लामा तानेर छानबिन सुरु गरिसकेको बताएका छन्। एसपी बुढा मगरले कैदीको नाइकेलाई बजारसम्म केही अत्यावश्यक सामान किन्न जाने छुट भएको र त्यस समयमा पनि प्रहरीको निगरानी रहने गरेको बताएका छन्।

यति धेरै टाढासम्म र धेरै लामो समयसम्म किन र कसरी छुट दिएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी बुढा मगरको दाबी छ। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App