९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरको तलेजु मन्दिरमा विदेशी नागरिकद्वारा चोरी प्रयास

भक्तपुरको दरबार क्षेत्रभित्रको तलेजु मन्दिरभित्र दिउँसै चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुनधारा परिसरमा करिब पौने १ बजे एकजना इटालियन नागरिकले चोरीको असफल प्रयास गरेको हो।

एकजना प्रत्यक्षदर्शीले ती विदेशी नागरिकले चक्कुद्वारा धातुको मूर्ति निकाल्न लागेको देखेर तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानलाई खबर गरेका थिए। खबरपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए। तापनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

प्रत्यक्षदर्शी सुरेश कवाँले ती विदेशी नागरिकले आफूसँग भएको चक्कुद्वारा मूर्ति निकाल्न खोजेपछि प्रहरीलाई खबर गरेको जनाए। खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँमा राखेर भाग्न खोजेको प्रत्यक्षदर्शी कवाँले जानकारी गराए। प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नम्बर वाइबी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरकी प्रमुख अरूणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा टिकट समेत नलिई चोर बाटोबाट नगर प्रवेश गरेको जानकारी मिलेको जनाइन्। भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ। १० अमेरिकी डलर तिरेर टिकट काटेपछि मात्रै नगर प्रवेश गर्न पाइन्छ।

प्रमुख नकर्मीले सिसिटिभि क्यामेराको सहायताले सुनधारा परिसरमा चारजना ओहोरदोहोर गरेको देखिएको सुनाइन्। पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको नकर्मीले बताइन्। घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन्।

प्रकाशित: २६ फाल्गुन २०७९ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App