१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडा नं. १ दिक्तेलकी मनिषा कटवाल, वडा नं.४ खाल्लेकी पवित्रा लम्साल, वडा नं ७ दोर्पा,चिउरीडाँडाकी निर्माया राई, वडा नं.१० पाथेकाकी मनकुमारी विश्वकर्मा, वडा नं ११ खार्मीकी अम्बिका विश्वकर्मा र वडा नं. १२ जालपाकी दुर्गा श्रेष्ठलाई नगद सहयोग गरिएको हो।

विपन्न महिलालाई जनही छ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिए। कार्यक्रममा नगरभित्रका उच्च पदमा पुग्न सफल तीन महिला निजामती कर्मचारी र २७ जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको छ।  

निजामतीतर्फ उपसचिव कोपिला राई, अधिकृत छैटौं रेखा राई र शर्मिला राईलाई सम्मान गरिएको छ। निजामती सेवातर्फ उच्च पदमा पुगेर सेवारत महिला अधिकृतलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको हो। दिवसको अवसरमा नगरपालिकाले महिला जनप्रतिनिधिबीचमा वतृत्वकला प्रतियोगितासमेत गरेको थियो।

‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा वडा नं १२ जालपाकी वडासदस्य धनशोभा राई प्रथम, वडा नं ३ बाम्राङकी रेखा रम्तेल दोस्रो, वडा नं ४ खाल्लेकी सुवती राई तेस्रो र वडा नं १० पाथेकाकी कल्पना राई सान्त्वना भएका छन्।

प्रतियोगितामा नगरका आठ महिला जनप्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाले सरस्वती मावि पाथेकालाई ७३ हजार रुपैयाँ उपलब्ध गराएको छ। किशोरी समूह निर्माण गरी किशोरी सशक्तीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

सिर्जनशील महिला कृषि समूह खाल्लेलाई छ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत किसान समूहलाई रकम उपलब्ध गराएको नगरउपप्रमुख विशन राईले बताए।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्य आयोजित कार्यक्रम अघि दिक्तेल बजारमा ¥याली निकालिएको थियो। पन्ध्र वडा रहेको उक्त नगरपालिकामा महिला तथा बालबालिका शाखाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो।

बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिकाको वडा नं ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ।

स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचमा विवाहको तयारी भएको थियो।

बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन्। रासस

प्रकाशित: २५ फाल्गुन २०७९ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App