१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।

बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र  पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने  स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ। नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्त्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको बताए।

‘यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्,उनले भने,‘विशेष गरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन्।’

धौलागिरि बेसक्याम्प जाने पर्यटकका लागि पछिल्लो पटक बगरको डाँडामा राखिएको फोरजी टावरले सहयोग पुगेको छ। यहाँबाट गुर्जाघाट र ढोरपाटनको उत्तरी भेगमा टेलिफोन, मोबाइल र इन्टरनेट चल्न थालेको छ।

‘गाउँमा फोन लाग्दैनथ्यो, मोबाइलमा कुराकानी गर्न डाँडामा पुग्नुपर्ने समस्या थियो’, धवलागिरि-४ बगरका चित्र तिलिजाले भने, ‘अहिले घरमै बसेर इन्टरनेट चलाउन पाइएको छ।’

मुक्तिनाथ, लोमान्थाङ, थोराङ्ला भज्ञ्याङ, रुकुम सिमानाको पातीहाल्ने, निसेलढोर लगायतमा पनि इन्टरनेट सेवा विस्तार भएको हो। टेलिकमले मुस्ताङको लोमान्थाङ, कोरला नाका र चराङ लगायत उच्च बस्तीमा पनि फोरजी सेवा विस्तार गरिसकेको छ। ती स्थानमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक पनि सयौंको संख्यामा जान थालेकाले टेलिकमले सेवा विस्तार गरेको हो। बागलुङमा ६२ टावरमा टुजी, थ्रीजी ५७ र फोरजी ५४ वटा टावरमा जडान भएका छन्।

म्याग्दीमा २२ टुजी, २१ थ्रीजी र १४ वटा फोरजी सेवा विस्तार भएको छ। मुस्ताङमा भने ३१ टुजी, २६ थ्रीजी र २४ वटा फोरजी टावरबाट सेवा सञ्चालनमा छ। पर्वतमा २८ टुजी, २१ थ्रीजी र २६ वटा फोरजी टावरसहितको सेवा विस्तार गरिएको बागलुङ टेलिकम शाखाले जनाएको छ। रासस

प्रकाशित: १९ फाल्गुन २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App