८ वैशाख २०८१ शनिबार
समाज

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

पोखराको फेवातालको बीचभागमा रहेको तालबराही मन्दिर। यो मन्दिर पूर्ननिर्माण गर्ने तयारी छ। फाइल तस्बिरः नागरिक

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ।  

गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार चैतदेखि पूर्ननिर्माण सुरु हुने र आठमहिना भित्र काम सक्ने योजना छ। मन्दिर भत्काउनु अघि सोमबार र मंगलबार क्षमा पूजा पनि गरिएको छ। ‘तालवराही मन्दिर तीनईञ्च दक्षिण ढल्किएको छ। भूईंतला सहित तीनतले मन्दिर तीनईञ्च दक्षिणतर्फ ढल्किएपछि जोखिम बढेको छ। मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी जोखिममा परेकोले पूर्ननिर्माण गर्नुपरेको हो,’ कुँवरले भने, ‘भूकम्प आयो भने त झनै जोखिम छ।’  

पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरेको उनले बताए। तालबराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघ्न बाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उद्देश्यले क्षमा पुजा गरिएको उनले बताए।  

गूठि संस्थान र पुरातत्व विभागका प्राविधिकले गरेको अनुमान अनुसार मन्दिर पूर्ननिर्माण गर्न १ करोड ४४ लाख रुपैयाँ खर्च लाग्ने देखिएको उनले बताए। त्यो मध्ये २५ लाख रुपैयाँ पुरातत्व विभागले दिने वचन दिईसकेको अध्यक्ष कुँवरले बताए। बाँकी रकमको भने जोहो नभएको उनले बताए। तर गुठि संस्थान सहित दातासँग सहयोग मागिरहेको उनले बताए। ‘बाहिरी संरचना बलियो बनाउने गरि पूर्ननिर्माण हुनेछ। मन्दिरको स्वरुप परिवर्तन हुँदैन,’ उनले भने, ‘मन्दिरको बाहिरी घेरामा २४ इन्चको पर्खाल रहनेछ।’  

झन्डै तीनवर्ष अघि नै मन्दिर दक्षिण ढल्केको देखिएको थियो। पछि त्यसलाई गुठि र पूरातत्वका प्राविधिक झिकाएर अध्ययन गराउँदा तीनइन्च ढल्केको पुष्टि भएको थियो। उनका अनुसार २०७२ सालको भूकम्पले मन्दिरका अधिकांश भाग चर्किएको थियो। भूकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुख पनि ढल्किएको थियो। रुख ढल्किदा त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेको थियो। रुख सुकेपछि त्यसलाई निकालिएको अध्यक्ष कुँवरले बताए।

रुख निकालेपछि मन्दिर केहि ढल्किएको जस्तो देखेपछि पुरातत्वविदलाई देखाउँदा मन्दिर तीनईञ्च ढल्किएको पुष्टि भएको उनले बताए। मन्दिर ढल्किनुको कारण ठ्याक्कै भन्न नसकिएपनि भूकम्प कारण हुनसक्ने उनले बताए। ‘भूकम्पका कारण मन्दिर जिर्ण बन्नु, मुसाले भित्रभित्रै खोतलेर मन्दिरको भित्रीभागसम्म प्वाल बनाउनु, रुखको जरा मन्दिर भित्रसम्म पस्नु जस्ता कारणले मन्दिर ढल्किएको हुनसक्ने अध्यक्ष कुवँरको भनाई छ।  

मन्दिर ढल्किएपनि दैनिक पूजाआजा भने चलिरहेको थियो। भूँइ तलासहित तीनतले मन्दिरको दोश्रो तलामा मात्रै २० वटा टुँडाल छन्। ती मध्ये केहि काम लाग्ने छन् भने केही जिर्ण बनिसकेका छन्। पुर्ननिर्माण गर्दा मन्दिरको डिजाईन परिवर्तन गर्न नपाईने उनले बताए।  

ताल वराही मन्दिर तत्कालीन राजा महेन्द्रले बिस.२०१७ सालमा निर्माण गराएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर शुरु गरिएको सो मन्दिर पछि एकलाख २० हजार खर्च गरेर पुर्ननिर्माण गरी कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको थियो। सिमेन्टको जस्तै काम गर्ने माटोको प्रयोग गरिएकाले मन्दिर बलियो रहेकाले अहिलेसम्म धानिएको अध्यक्ष कुँवरले बताए।

प्रकाशित: १६ फाल्गुन २०७९ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App