दाङको बङगलाचुली गाउँपालिका ८ स्थित घोरलभिर क्षेत्रबाट प्रहरीले लुकाइराखिएको अवस्थामा ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजे उक्त जंगल क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले जंगल क्षेत्रमा व्यापक खोजतलास गर्ने क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ।
बरामद गरिएका बन्दुक कसले, किन र कस्तो प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासँग संलग्न व्यक्ति वा समूहको पहिचान गर्न आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित: ६ श्रावण २०८३ १२:४४ बुधबार





