सुनसरीमा सशस्त्र प्रहरीले एक वर्ष गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीले आर्थिक वर्ष २०८२/८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरका चोरीपैठारी तथा अवैध निकासीका सामान बरामद गरेको जनाएको छ।
बाहिनी तथा मातहतका कार्यालयहरूले वर्षभर सञ्चालन गरेको सीमासुरक्षा तथा चोरीपैठारी नियन्त्रण अभियानका क्रममा लत्ताकपडा, खाद्यान्नलगायत विभिन्न प्रकारका अवैध सामग्री बरामद गरी सम्बन्धित राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सोही अवधिमा सशस्त्र प्रहरीले २ वटा पेस्तोल, एउटा म्याग्जिन, ४ राउन्ड गोली तथा २ वटा भरुवा बन्दुक बरामद गर्दै हतियारसँग सम्बन्धित घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १८१ पुरुष र १२ महिला गरी १९३ जनालाई पक्राउ गरिएको छ। बरामद लागूऔषधमा करिब १ किलो १२३ ग्राम ब्राउन सुगर, १० हजार ७ सय ७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिन, ट्रामाडोल, नाइट्राभेट, डाइलक्स डीसी, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, एभिल र डाइजेपामलगायतका औषधिजन्य लागू पदार्थ रहेका छन्।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा १ महिला र १८ पुरुष पक्राउ परेका छन्। साथै २३ महिला, २ पुरुष र १३ बालबालिकाको उद्धार गरी सम्बन्धित निकायको संरक्षणमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस अवधिमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न समूह, क्लब र शैक्षिक संस्थामा लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा १०४ वटा ट्र्याक्टर, ३ वटा टिपर र ५ वटा जेसीबी नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई बुझाइएको छ।

वन्यजन्तु तथा वनपैदावार चोरीपैठारी नियन्त्रण अभियानमा एउटा गैँडाको खाग, एउटा हरिणको सिङ तथा २ हजार ३ सय ३३ क्युबिक फिट विभिन्न प्रजातिका काठ बरामद गरिएको छ। यस प्रकरणमा संलग्न २ जनालाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
वातावरण संरक्षण अभियानअन्तर्गत बाहिनी तथा मातहतका कार्यालयहरूले कोशी प्रदेशका विभिन्न स्थानमा ६ हजार ८ सय ४६ वटा फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमसमेत सञ्चालन गरेका छन्।

प्रकाशित: ६ श्रावण २०८३ १७:४८ बुधबार





