८ वैशाख २०८१ शनिबार
समाज

बुढीगंगामा विवाह गर्दा वडाको स्वीकृति लिनु पर्ने

बुढीगंगा नगरपालिकामा विवाह गर्न वडाको स्वीकृति लिनु पर्ने नीतिगत निर्णय गरिएको छ। 

बाल विवाहका घटना बढ्न थालेपछि पालिकाले वडा तहबाटै रोकथामका लागि विवाह पूर्व नै स्वीकृति अनिवार्य गराएको हो।

नेपाल सरकारको कानुन अनुसार २० वर्ष पुगेर मात्रै विवाह गर्नु पर्ने प्रावधान छ। तर गाउँ समाजमा अझै कलिला उमेरका बुहारीहरू भित्र्याउने र सानै उमेरमा बालबच्चा जन्माउने क्रम घटेको छैन। बाल विवाहले विकराल रूप लिने अवस्था देखिएकोले नीतिगत रूपमा कडाइ गर्नु परेको बुढीगंगा नगरपालिका १० का अध्यक्ष दलबहादुर साउँदले बताएका छन्।

साउँदले वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्ने सूचना नै जारी गराएका छन्। विवाह गर्नु पूर्व जो कोहीले पनि जन्म दर्ताको प्रमाण राखेर वडाबाट स्वीकृति लिनु पर्ने प्रावधान बनाएको छ। मनोमानी बिहे गर्नेहरूको क्रम नरोकिएपछि वडा कार्यालयबाटै कडाइ गर्ने गरी निर्णय गरिएको अध्यक्ष साउँदले बताएका छन्।  

विवाह आफू खुसी गर्ने विषय हो, तर समाज निर्माणमा नै अवरोध हुने, समाजमा बाल विवाहले थप जटिलता उत्पन्न गराउने र भविष्य समेत अन्धकार हुने अवस्था पुगेपछि बाध्य भएर स्वीकृति लिनु पर्ने प्रावधान गरिएको हो, साउँदले भने।

वडा कार्यालयले सूचना नै जारी गरेको छ। कुनै पनि व्यक्तिले अनिवार्य स्वीकृति लिनु पर्ने र नलिएको र बाल विवाह भएको प्रमाणित हुन आएमा स्वयम वडा कार्यालयले नै कानुनी प्रक्रिया थाल्ने निर्णय गरेको छ। सिंगो पालिकामा नै बाल विवाह रोक्न कडाइ गर्ने अभियान सुरु गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

बाजुरामा अझै बाल विवाह हुने क्रममा कमी आएको छैन। माध्यमिक तहको शिक्षा पुरा नगर्दै जोडी बाँधिने र उच्च शिक्षा आर्जनको बाटो नै बन्द हुने अवस्था छ। त्यसैमा कलिला आमाहरूको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा समेत समस्या देखिएको छ। कलिलै उमेरको विवाहले अधिकांशको घरबार समेत विच्छेद भएको र जीवन नै बर्बादीको अवस्थामा पुग्ने स्थिति छ।

बाजुरामा ७० को दशकको तथ्याकं अनुसार करिब ७० बढी प्रतिशतले बाल विवाह गर्ने गरेका छन्। लुकाएर राख्ने र जानकारीमा नदिने हुँदा २० वर्ष पहिले नै जन्मिएको बच्चाको जन्म दर्ता गर्न समेत समस्या छ। उनीहरूले उमेर लुकाएर वडा कार्यालयमा जन्म दर्ता गराउन आउने गरेका छन्।

बुढीगंगा नगरपालिकाले पहिलो चरणमा १० नम्बर वडाबाट सुरु गरेको छ। १० नम्बर वडा अछाम र बाजुराको सीमा क्षेत्रमा पर्छ। अभियान अन्य वडामा पनि विस्तार गर्ने र बाल विवाह रोक्न शून्य सहनशिलताको नियम लागु गर्ने नगर प्रमुख रामबहादुर बाँनीयाको भनाई।

बाजुराको हकमा बाल विवाह प्रमुख समस्या बनेको छ। नेपालको कानुनले २० वर्ष पुरा नगरी गरिने विवाहलाई मान्यता नै दिएको छैन।

प्रकाशित: १३ फाल्गुन २०७९ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App