८ वैशाख २०८१ शनिबार
समाज

पाइलटमाथि परिचारिकालाई दुर्व्यवहार गरेको आरोप

नेपाल वायुसेवा निगममा कार्यरत पाइलटले परिचारिका(एयरहोस्टेस)माथि दुव्र्यवहार गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी परेको छ। उजुरीपछि प्राधिकरणले चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई तत्काल उडानमा रोक लगाएको छ।  

घटना सात महिनाअघि साउन १२ गतेको रहेको बताइएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उजुरी परेको पुष्टि गरे। उनले भने, ‘भर्खरै उजुरी प्राप्त भएको छ। उजुरी भर्खरै प्राप्त भएपछि प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ। त्यसमा प्राधिकरणले आवश्यक छाननि थालिसकेको छ।’  

निरौलाका अनुसार क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा रहेको नेपाल वायुसेवा निगमको उडान संख्या आरए–४१६ को विमानमा उक्त घटना भएको हो। ‘उजुरी परेसँगै आवश्यक कारबाही गर्ने क्रममा उक्त उडानमा रहेका चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाइएको छ।’  

यही कुरालाई प्राधिकरणले ट्विटरमा पनि सार्वजनिक गरेको छ। जसमा ‘चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक कार्य र दुव्र्यवहार गरेको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख छ। उता नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले शुक्रबार कार्यालय समय सकिँदासम्म त्यस्तो कुनै जानकारी नआएको दाबी गरे। ‘आज कार्यालय समयभित्र कुनै जानकारी आएको छैन,’ उनले भने, ‘सायद ढिलोगरी निर्देशन आएको भए थाहा भएन।’

के हो घटना ?  

साउन १२ गतेअघिकै एक उडानको अवतरणका क्रममा निगममा कार्यरत क्याप्टेन अरविन्दराज पहारीले ढोका हेर्ने जिम्मेवारीमा रहेकी नयाँ परिचारिकालाई ‘ककपिटमा राखेर ल्यान्ड गरेको विषयमा विवाद सिर्जना भएको स्रोतले बतायो। पहारीले ढोका हेर्ने जिम्मेवारी पाएकी परिचारिकालाई एकाएक ककपिटमा लैजाँदा हवाई सुरक्षाको दृष्टिकोणले गलत भएको भन्दै क्याबिन क्रुका बाँकी सदस्य र अन्य कर्मचारी पनि असन्तुष्ट बनेका थिए। त्यसै क्रममा अन्य परिचारिकाहरू एकजुट भएर आन्तरिक रूपमा आवाज उठाए। त्यसपछि ती नयाँ परिचारिकाले भने काम छाडेको स्रोतले बतायो।  

यसरी आफूले गरेको कामको विरोध गरेको भन्दै क्याप्टेन पहारीले साउन १२ गतेको उडान समयमा एकजना परिचारिकामाथि दुव्र्यवहार गरेको बताइन्छ। त्यसपछि सोही विमानमा रहेका परिचारिकाहरूले साउन २७ गते नै निगमकै सम्बन्धित शाखा (क्याबिन क्रु डिभिजन)का निर्देशक क्याप्टेन विजय लामालाई इमेलमार्फत जानकारी गराएका थिए। उक्त इमेल केटिएम दैनिक अनलाइनले प्रकाशित गरेको छ। उक्त समाचारअनुसार त्यसपछि क्याप्टेन लामाले निगमका माथिल्लो अधिकारीलाई समस्या सम्बोधनका लागि इमेल नै लेखेको देखिन्छ।  

यसबाहेक ती परिचारिकाहरूले निगमकै माथिल्लो ओहदाका अधिकारीलाई पनि लिखित उजुरी दिएको स्रोतको दाबी छ। तर, निगमबाट समस्या समाधानको साटो उजुरीकर्ता परिचारिकाहरूलाई कारबाही गर्नेदेखि निकाल्नेसम्मका काम भएको बताइन्छ।  

यसरी तीन महिनासम्म पनि सुनुवाइ नभएपछि पुस २ गते पीडित परिचारिकाले निगमकै अपरेसन डिपार्टमेन्टमा लिखित उजुरी दिएकी थिइन्। उक्त उजुरी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, निगमकै मानव संशाधन विभाग र हवाई सुरक्षा विभागलाई समेत बोधार्थ दिइएको छ।  

उजुरीमा ती परिचारिकाले क्याप्टेन पहारीद्वारा गरिएको दुव्र्यवहारको कारण उक्त उडानभरि आफू र सहकर्मीहरूले भोग्नुपरेको मानसिक तनाव र उडानमा पर्न गएको गम्भीर असरको उजुरी गरेको आज तीन महिना बितिसक्दा पनि कुनै किसिमको सुनुवाइ नभएकोमा दु:ख प्रकट गरेकी छन्। जसमा कार्यालयभित्र भएको हिंसाजस्तो संवेदनशीन विषयमा उजुरी गर्दा पनि समाधान गर्न पहल नगरिएको उल्लेख छ। त्यसपछि पीडित परिचारिकाले मन्त्री श्रेष्ठलाई भेटेर पनि आफूमाथि भएको हिंसाबारे बताएको स्रोतको दाबी छ। तर, त्यसको पनि दुई महिना बित्दा पनि सुनुवाइ नभएपछि ती पीडितले प्राधिकरणमा उजुरी दिएको बताइएको छ। 

साउन १२ गते उक्त विमानमा ३ जना क्याप्टेनसहित १० जना चालक दलका सदस्य रहेको स्रोतले बतायो। क्याप्टेनहरूमा पहारीसहित मुकेशकुमार गुप्ता र लालबहादुर थकाली रहेको बताइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App