२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धरान ग्याँस सिलिण्डर विष्फोट घटना: घाइते ६ जनालाई काठमाण्डौं पठाइयो

वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा सोमबार राती उपचारको क्रममा ग्याँस सिलिण्डर विष्फोटमा घाइतेहरु। तस्बिर: रोहित राई <br>

सोमबार ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट हुँदा घाइते भएकामध्ये ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ।

घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थप उपचारको लागी कीर्तिपुर बर्न हस्पिटल रिफर गरेको थियो। प्रतिष्ठानले रिफर गरेपछि ४ जनालाई हेलिकप्टरबाट र २ जनालाई एयरप्लेनबाट काठमाण्डौं पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए। घाइते २ जना बालबालिकाहरुलाई भने अस्पतालले डिस्चार्ज दिइसकेको छ।

डिएसपी मल्लका अनुसार घाइते शिक्षिका ४२ बर्षीया अञ्जना राई र उनकी सासूआमा ६६ बर्षीया राजकुमारी राईलाई एयरप्लेनबाट काठमाण्डौं लगिएको छ। अन्य ४ जना घाइतेहरु २७ बर्षीया सविता राई, उनकी बहिनी २२ बर्षीया सोनिका राई, ग्याँस डिलरको गाडी चालक अनिष कार्की र डिलरका कर्मचारी वासुदेव खड्कालाई हेलिकप्टरबाट काठमाण्डौं पठाइएको डिएसपी मल्लले जानकारी दिए। 

घाइते सविता र सोनिका दिदीबहिनी घरधनी हुन्। घाइतेमध्ये शिक्षिका अञ्जना राईकी १० बर्षीया छोरी सोनिहाङ राई र ८ वर्षका छोरा साङ्केन राई डिस्चार्ज भएका छन्।

सोमबार धरान १७ स्थित आदर्श चोक नजिकै ग्याँस लिक भएको सिलिण्डर मर्मतको क्रममा विष्फोट भएको थियो। डिपोट स्कुलकी शिक्षिका अञ्जना राईको परिवार ५ दिनअघि मात्र डेरा सरेर उक्त घरमा आएकी थिइन्। उनको भान्साको ग्याँस चुल्हा नबलेपछि मर्मत गर्न सोमबार दिउँसो करिब साढे ४ बजेतिर डिलरबाट कर्मचारी आएका थिए। मर्मत गर्ने क्रममा नै ग्याँस लिक भएर विष्फोट भएको थियो। 

विष्फोटबाट घरको तल्लो तला र माथिल्लो तलासम्मको झ्यालका सबै सिसा फुटेको छ भने अल्मुनियमको झ्यालको फ्रेमसमेत उछिट्टिएको थियो। साथै, झ्यालको ग्रिलसमेत बाङ्गिएको थियो। ग्याँस लिक भएको र झ्याल, ढोका थुनिएको कारण भरिएर विष्फोट भएको अनुमान गरिएको छ। 

एक आफन्तका अनुसार ग्याँस सिलिण्डर बनाउन आएका कर्मचारीले रेगुलेटर खोल्ने बित्तिकै ग्याँस निस्किएको थियो। रेगुलेटरले बन्द गर्न र सिलिण्डर बाहिर लैजाने भन्दा भन्दै पनि केही हुँदैन भन्दै डिलरका कर्मचारीले मर्मत गरिरहँदा एक्कासि घरभित्र विष्फोट भएको घाइतेका आफन्तजनको भनाई छ। विष्फोटले घरमा क्षति पुगे पनि सिलिण्डरमा भने कुनै क्षति भएको छैन।

प्रकाशित: ९ फाल्गुन २०७९ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App