केही समयअघि सत्ता उथलपुथल भएको बाङ्लादेशमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक अभिव्यक्तिको व्यापक आलोचना भइरहेको छ । सन् १९७१ को मार्च २६ देखि डिसेम्बर १६ सम्म चलेको ‘बाङ्लादेश लिबरेसन वार’(बाङ्लादेश स्वतन्त्रता सङ्ग्राम) सकिएको दिनमा मोदीले दिएको अभिव्यक्तिमाथि बाङ्लादेशमा गरमागरम आलोचना भइरहेको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।
मोदीले यस वर्ष डिसेम्बर १६ मा त्यो सङ्ग्रामसँगै भएको ‘इन्डो–पाकिस्तान युद्ध’लाई लिएर अभिव्यक्ति दिएका थिए । मोदीले त्यो लडाइँमा भारतीय सैनिकले देखाएको साहस र बलिदानको बखान गरेका थिए ।
‘आज विजय दिवसका अवसरमा हामी आफ्नो बहादुर सैनिकको साहस र बलिदानको सम्मान गर्दछौँ । जसको बलमा १९७१ मा भारतलाई ऐतिहासिक जित मिलेको थियो,’ मोदीले एक्समा लेखेका थिए,‘उनको निस्वार्थ समर्पण र अटुट संकल्पले हाम्रो राष्ट्रको रक्षा गर्दै हामीलाई गौरवान्वित गरेको छ । यो दिन उनीहरूको असाधारण वीरता र अटुट प्रयासका लागि श्रद्धाञ्जली दिने दिन हो । उनको बलिदान हमेसा पुस्तौँ पुस्तासम्म प्रेरित गर्नेछ । र, हाम्रो देशको इतिहासको गहिराइमा अन्तर्निहित रहनेछ ।’
मोदीको यही भनाइपछि बाङ्लादेशके अन्तरिम सरकारमै सामेल व्यक्ति समेत रिसाएका छन् । नोबेल पुरस्कारधारी मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले मोदीको उक्त भनाइको चर्को आलोचना गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म यसको कडा विरोध गर्छु । १० डिसेम्बर, १९७१ बाङ्लादेशको विजयको दिवस हो । भारत यस जितका लागि मात्र सहयोगी थियो । यसभन्दा बढी केही थिएन ।’ आसिफको उक्त भनाइलाई सरकार प्रमुख युनुसका प्रेस सचिवले सेयर गरेका छन् ।
भर्खरै तख्ता पलट गराउने विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहले पनि भारतीय प्रधानमन्त्री मोदीको विरोध गरेका छन् । ‘यो बाङ्लादेशको मुक्ति युद्ध थियो । पाकिस्तानबाट बाङ्लादेशको स्वतन्त्रता थियो । तर, मोदीले दावा गरिरहेका छन् कि यो एकल भारतको युद्ध थियो र उसैको उपलब्धि थियो,’ अब्दुल्लाहले लेखेका छन्, ‘यस किसिमको भाष्य बनाएर बाङ्लादेशको अस्तित्व नजरअन्दाज गरिएको छ । जब भारत आफ्नो उपलब्धि बताउँछ तब म बाङ्लादेशको एकता, स्वतन्त्रता र सम्प्रभुतामाथि खतराका रूपमा देख्छु ।’ यस्तोमा आफू भारतबाट सिर्जित यस खतराबाट लड्न जरुरी देख्ने उनले लेखेका छन् ।
यो विवादमा बाङ्लादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तौहिद हुसैनले भारतलाई आधिकारिक जबाफ पठाउने बताएका छन् ।
खास प्रसङ्ग के हो ?
सन् १९७१ मा पूर्वी पाकिस्तान(हालको बाङ्लादेश)मा पश्चिम पाकिस्तान(हालको पाकिस्तान)बाट छुट्टिएर छुट्टै देशको मागसहित आन्दोलन भएको थियो । शेख मुजिबुर रहमानको नेतृत्वमा भएको त्यो आन्दोलन (बाङ्लादेश लिबरेसन वार)लाई दबाउन पाकिस्तानी सेनाले हिंसात्मक शैलीमा बल प्रयोग गरिरहेको थियो । मुजिबुर रहमान भर्खरै विद्यार्थी आन्दोलनबाट अपदस्थ भएकी शेख हसिनाका पिता पनि हुन् ।
आन्दोलन सफल भएपछि मुजिबुर रहमानलाई बाङ्लादेशमा ‘राष्ट्रपिता’ मानिन्छ । ‘बंगबन्धु’ भनेर बाङ्लादेशमा उनी चिरपरिचित छन् ।
पाकिस्तानी सेना बाङ्लादेश लिबरेसन फोर्समाथि हाबी हुँदै गएपछि ३ डिसेम्बर १९७१ मा भारतीय सेना युद्धमा उत्रिएको थियो । भारतीय सेना र पाकिस्तानी सेनाबिच १४ दिनको युद्ध डिसेम्बर १६ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि सकियो । त्यसपछि बाङ्लादेश स्वतन्त्र देश बन्यो ।
त्यही दिन १६ डिसेम्बरलाई बाङ्लादेशसँगै भारतले पनि आफ्नै किसिमले विजय दिवस मनाउँदै आएको छ । यस वर्ष त्यसको ५३ औँ दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो एक्समा ट्विट गरेको विषय अहिले विवादित बनेको हो ।
भारतीय पक्षले आफ्नो सेनाले लडेको युद्धमा जित भएको भन्दै आएको छ भने, बाङ्लादेशले त्यो युद्ध बाङ्लादेशको आफ्नो रहेको र त्यसमा भारतको सहयोग मात्रै रहेको भन्दै भारतले एकलौटी हक लिएर बाङ्लादेशी सम्प्रभुतामाथि आक्रमण गरेको अर्थमा व्याख्या गरिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: ३ पुस २०८१ १४:२६ बुधबार