१६ चैत्र २०८० शुक्रबार
समाज

अवतरण गर्नै लाग्दा जहाजसँग चरा ठोक्किएपछि

भिडियो खिचेका केसी भन्छन्ः हवाई सुरक्षा होस भनेर सेयर गरेको हुँ

खास नाम इश्वर केसी, तर, सामाजिक सञ्जालमा उनले ‘इशु ब्रो’ राखेका छन। उनै केसीले सोमबार दिउँसो खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जुन भिडियोको सम्बन्ध छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमाथि चराबाट हुने हवाई जोखिमसँग।  

गत जनवरी एकदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम रहेको स्वयं विमानस्थलले नै बारम्बार बताउँदै आएको छ। यसअघि पनि माघ २ गते विमानस्थलमा अवतरणको क्रममा जहाजसँग चरा ठोक्किएको थियो। बेलाबेला चराले विमानस्थलमा कष्ट थपेको हवाई कम्पनि र विमानस्थलले गुनासो सुनाइरहँदा सोमबार केसीले संयोगवस अवतरणको क्रममा रहेको बुद्ध एयरको जहाजसँग चरा ठोक्किएको भिडियो कैद गरेका थिए।  

विमानस्थलमा अवतरण गर्नै लागेको बेला सोमबार दिउँसो ३ बजेर २४ मिनेटमा खिचिएको भिडियोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। त्यसपछि चरा फनफनि घुम्दै भूँइमा खसेको पनि देखिएको छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’ हो। जहाँ गल्फरहरुले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको बारे ती गल्फरहरुले पनि देखेका थिए। जहाजसँग चरा ठोक्किएको भन्दै गल्फरले सञ्चारकर्मीलाई समेत जानकारी गराएका थिए।  

केसीले खिचेको भिडियोमा जहाजसँग ठोक्किएपछि चरा भूइँमा खसेको भन्दै एकअर्कासँग कुराकानी पनि गरेको सुनिन्छ। खसेको चरालाई समाउन गल्फकोर्ष क्षेत्रमा रहेका बालकहरु दौडेका थिए। ती बालकहरुले समाएको चरा उडाउने प्रयास पनि गरेका थिए। पछि चरालाई एकजना बालकले हातले झुन्ड्याएर लगेको पनि देखिन्छ।  

विमानस्थल वरिपरि हुने चराका गतिविधिका कारण हवाई उडान जोखिमपूर्ण रहेको गुनासो बाहिर आइरहँदा त्यसैलाई पुष्टि गर्नेगरि घटना भईरहेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्। ‘चराका कारण दिनहुँ समस्या पारेको छ। कहिले उड्नेबेला त कहिले अवतरणको समयमा जहाजको नजिकै आउँदा सकस पार्ने गरेको छ,’ एक हवाई कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरले भने, ‘विमानस्थलको नजिकै भएर बग्ने खोला र नहरमा जथाभावि फ्याकिएको सिनोका कारण चराले हैरान पारेको छ। चराका कारण हवाई उडानमा जोखिम थपिएको छ।’

जहाजसँग ठोक्किएपछि भुँइमा खसेको चरा।  

सोमबारको घटनाबारे बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भिडियो हेरेपछि पोखरास्थित कार्यालयका स्टेशन म्यानेजरलाईे सोधेको तर जहाजसँग चरा ठोक्किएकोबारे कुनै जानकारी नभएको भन्ने जवाफ पाएको बताए। ‘जहाजको पखेटा, प्रोपेलर सहित सबैतिर हे¥यौ, तर, कतैपनि चरासँग ठोक्किएको दाग देखिएन,’ उनले भने, ‘रगतको टाटो, चराको प्वाख कतै पनि भेटिएन।’ जहाजमा कतैपनि क्षति नभएकोले रिपोर्टिङ नभएको हुनसक्ने उनले बताए। कर्णका अनुमानमा हावा र ध्वनीको गतिका कारण जहाज आउँदा उडिरहेको चरा अत्तालिएर खसेको हुनसक्छ। उनले विमानस्थल नजिकैका नहर र खोलामा जथाभावि सिनो फ्याक्दा चराको जोखिम बढ्ने बताए।

पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतम जहाजसँग चरा ठोक्किएको भन्दै भाइरल भिडियोमा सत्यता नभएको दावि गर्छन। ‘मैले पनि यो भिडियो हेरे, त्यसबारे सिरियस हुनैपर्छ। भिडियो हेरेपछि टावर र एयरलाइन्स कम्पनिलाई पनि सोधेको हुँ। तर, कतैबाट पनि पुष्टि भएन,’ गौतमले भने, ‘जहाजसँग ठोक्किएको भए चरा सग्लै झर्ने भन्ने रहन्न, छियाछिया हुनुपछ ।’ जहाजसँग चरा ठोक्किएको नभई जहाजको हावाको प्रेसरले चरालाई हुत्याएको हुनुसक्ने उनले बताए।

‘शक्तिशालि इन्जिन भएको जहाज उडिरहँदा जहाजले तातो हावा फ्याक्छ। कहिलेकाँही त त्यो तातो हावाले धावनमार्गको पीच उप्काउने र रुखको हाँगा नै भाचिन्छ। यदी चरा ठोक्किएको भए जहाजमा कतै न कतै त असर गर्दथ्यो,’ उनले भने। गौतमले चराको गतिविधि रहिरहेपनि पछिल्लो केही दिनयता कम हुँदै गएको पनि बताए।  

जहाजसँग चरा ठोक्किएको घटना देखेका गल्फर भुवन गुरुङका अनुसार गल्फको जहाजसँग चरा ठोक्किको आकाशको तल गल्फ प्रशिक्षण भईरहेको थियो। त्यही क्रममा उनले चरा जहाजसँग ठोक्किएको देखेका थिए। उनीसँगै अरु गल्फर समेत त्यो घटनाको प्रत्यक्षदर्शी रहेको गुरुङले बताए। उनका अनुसार जहाजसँग ठोक्किएपछि चराको पखेँटा उछिट्टिएको थियो। शरिर र पखेँटा छुट्टिएपछि चराको शरिर तुरुन्तै भूँइमा खसेको थियो भने पखेटा भने ढिलागरि खसेको थियो।

‘खासमा एउटा मात्र चरा ठोक्किएको हो। जहाजसँग चरा ठोक्किँदा आएको आवाज हामीले नै सुनेका हौ,’ गुरुङले भने, ‘चराको शरिर र पखेँटा छुट्टाछुट्टै भएर भूँइमा खसेका थिए। खासमा एउटा मात्र चरा ठोक्किको हो।’ चरा ठोक्किएको देखेपछि आफैले विमानस्थलका पदाधिकारीलाई जानकारी गराएपछि उनीहरु समेत चरा खसेको ठाउँमा आएर हेरेको गुरुङले जानकारी दिए।  

भिडियो खिचेका केसी भन्छन्ः हवाई सुरक्षा होस भनेर सेयर गरेको हुँ

सोमबारको भाइरल भिडियो कैद गरेका इश्वर केसीको बसोबास बिरौटा हो। पुरानो विमानस्थल संचालन हुँदा केसीकै घरमाथिबाट जहाज उडेको र अवतरण गरेको उनले देख्ने गरेका थिए। जब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो, त्यसपछि हवाई उडान पुरानोबाट नयाँ विमानस्थलमा स¥यो। नयाँ विमानस्थलबाट उडान हुन थालेपछि बिरौटा क्षेत्रको आकाशमा हवाई उडान भएका छैनन। व्यवसाय गर्दै आएका केसीको केही जग्गा रिट्टपानी क्षेत्रमा छ। सोमबार केसी श्रीमति सहित रिट्टपानीको जग्गामा गएका थिए। त्यही बेला उनले त्यो भिडियो कैद गरेको बताएका छन्।  

‘पुरानोबाट नयाँ विमानस्थलमा उडान सरेपछि आजकल बिरौटाको आकाश सुनसान बनेको छ। सोमबार दिउँसो रिट्टेपानी आएको थिए, आफैमाथि जहाज उडेको देख्दा बिरौटाको झल्को आयो, त्यसपछि मोवाइलले भिडियो कैद गरेको हुँ,’ उनले भने, ‘हेर्दाहेर्दै जहाजसँग चरा ठोक्किएको देखे। त्यसपछि मैले भिडियो सामाजिक सञ्जालमा हालेको हुँ।’ उनका अनुसार जहाजसँग ठोक्किएको चरा खसेको देखेपछि खोला किनारमा जाली भर्दै गरेका मजदुर समेत भागाभाग गरेका थिए।  

‘मैले कसैलाई बिगार्न भिडियो खिचेको होईन। संयोग परेको मात्र हो। कम्तिमा पोखराको हवाई उडान सुरक्षित हुनुपर्छ भन्ने लागेर भिडियो सेयर गरेको हुँ,’ उनले भने, ‘म कसैलाई बद्नाम गर्न चाहन्न। यस्ता घटना लुकाउने नभई बाहिर ल्याएर समस्या समाधानमा लाग्नुपर्छ भन्ने मेरो सुझाव हो।’

प्रकाशित: ९ फाल्गुन २०७९ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App