१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंमा पनि भूकम्पपीडित टहरामै

भक्तपुर देकाचास्थित भूकम्पपीडितको सामूहिक वस्ती ।

भक्तपुर–यस वर्षको दसैंमा पनि भक्तपुरका भूकम्पपीडितको बास टहरामै हुने भएको छ । भूकम्पपछि अस्थायी टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य पीडितलाई अहिलेसम्म घर बनाउन सरकारले सघाउन नसक्दा यस वर्षको दसैं पनि टहरामै बित्ने भएको हो ।
‘टहरामा बस्न थालेको पनि १७ महिना बितिसक्यो,’ टहरामा बसिरहेकी सानुमैयाँ दनेगुलूले नागरिकसँग दुःख बिसाउँदै भनिन्, ‘यस वर्षको दसैं पनि यही टहरामै बित्नेभो ।’

भक्तपुरका गरुडकुण्डल, कमलनिनायक, च्याम्हासिंह, लिवाली, ब्याँसी, कमलविनायक, देकोचा, इन्द्रायणी, दूधपाटीलगायत ठाउँमा सार्वजनिक र निजी जमिनमा टेन्ट र टहरामा पीडित कष्टपूर्ण जीवन बिताइरहेका छन् । कुनै परिवार टेन्टमा छन् त कुनै परिवार जस्तापाताको टहरामा । कतिपय ठाउँमा एउटै टेन्टमा एकभन्दा बढी परिवार अहिले पनि कष्टपूर्ण जीवनयापन गरिरहेका छन् ।

रामबहादुर दथेपुथेले टहरामै दसैं मनाउनु पर्दा बालबालिकाले उल्लासपूर्वक दसैं नमनाउने बताए । ‘गतवर्ष पनि टहराको उकुसमुकुसमै भोज खानुप¥यो, यसपल्ट पनि छोराछोरीले दुःख मनाउ गर्ने भए,’ उनले थपे, ‘सबै अटाइनअटाइ टहरामै भोज खानुपर्छ । धेरै परिवार एउटै टहरामा बसेका मात्र नभएर अधिकांश एउटै टहरामा पनि तीन चार वटा बेड राखेर सुत्छन् ।  

महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांक अनुसार जिल्लाका विभिन्न २४ स्थानमा ३ हजार बढी भूकम्पपीडित अझै पनि त्रिपाललगायत अस्थायी शिविरमा बस्न बाध्य छन् । परिसरका प्रवक्ता प्रकाश विष्टले पीडित अझै पनि दुःखसुख गरेर टहरामै बस्न बाध्य भएको बताए । परिसरका अनुसार भक्तपुर नगरपालिकाभित्र रहेका अधिकांश शिविरमा ५ सय ९७ परिवारको बास पाल र त्रिपालमुनि छ । १ हजार २ सय २६ जना महिला, १ हजार १ सय १४ जना पुरुष, ४ सय ९५ जना बालबालिका, १ सय २८ वृद्ध, ९५ जना वृद्धा, १२ जना सुत्केरी र २५ जना शारीरिक रुपमा अशक्तका पालमा बसोबास छ ।

जिल्ला लगत संकलन कार्यालय कमलविनायक भक्तपुरका प्रमुख धर्मरत्न बज्राचार्यका अनुसार जिल्लाका ६ वटै नगरपालिकामा भूकम्पपीडितको लगत संकलन भइसकेको छ । पुनर्निर्माणका लागि सरकारले दिने अनुदान रकम वितरण छिट्टै थालिने उनले जनाए ।
भूकम्पले १४ जिल्लाका सर्वसाधारण सबैभन्दा बढी प्रभावित भएका थिए । तीमध्ये भक्तपुर पनि एक हो । भूकम्पले भक्तपुरका २८ हजार ६ सय ९१ घर ध्वस्त भएका थिए भने ३ सय ३३ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App