१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जय शम्भो !

महाशिवरात्रिको अघिल्लो दिन शुक्रबार साँझ झिलिमिली देखिएको पशुपतिनाथ मन्दिर परिसर। महाशिवरात्रिका अवसरमा झिलिमिली बत्ती, ध्वजापताका र फूलमालाले पाशुपत क्षेत्र सिँगारिएको छ। तस्बिर:प्रसन गुरुङ/नागरिक

पाशुपत क्षेत्रमा महाशिवरात्रि पर्वको रौनक छ। महाशिवरात्रिको अघिल्लो दिन शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्र फूलमाला र बत्तीले निकै झकिझकाउ पारिएको छ। यसले मन्दिर क्षेत्र निकै रमणीय देखिएको छ। भक्त, साधुसन्तले पाशुपत क्षेत्र भरिएको छ।

महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ। पशुपति क्षेत्रमा रहेको शंकराचार्य मठमा भक्तजनको बाक्लो उपस्थिति देखियो। वैदिक गणितका विख्याता उनले शुक्रबार भक्तजनलाई आध्यात्मिक, वेद, पुराण, मानवचोला, धर्म, संस्कृति , वैदिक गणित तथा ज्योतिष विज्ञानका बारेमा प्रवचन दिए।

महाशिवरात्रिको दिन पशुपतिनाथको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था मिलाएको छ। तर सरसफाइमा भने कोष चुकेको देखिएको छ। पाशुपत क्षेत्र झकिझकाउ पारिए पनि फोहोर र खाना खाएका कागजका थाल, कप यत्रतत्र फालिएको देखियो। भक्तजनले नुहाएर सडक छेउ र मन्दिरवरिपरिका भित्तामा लुगा सुकाएको पनि देखियो। यसले गर्दा ८५ लाख रूपैयाँ खर्चेर गरिएको मन्दिर क्षेत्रको सजावट फिक्का देखियो। पर्याप्त शौचालयको व्यवस्था नभएको गुनासो पनि भक्तजनको छ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न चितवनबाट आएकी नम्रता श्रेष्ठले भनिन्, ‘म भाइसँगै यहाँ आएकी हुँ तर शौचालयको राम्रो प्रबन्ध नभएकाले पानीसमेत पिउन डराउनुपरेको छ। यत्रो ठूलो पर्व महाशिवरात्रिमा लाखौं भक्तजन आएको अवस्था छ। मन्दिर परिसर र सडकवरिपरि भक्तजनले कपठा सुकाइएका छन्, यस्तो गर्नु हुन्न र गर्न दिनु हुन्न। यसले छिमेकी मुलुकमा राम्रो सन्देश जाँदैन ।’ महाशिवरात्रि मेला भर्न भारतलगायत मुलुकबाट हिन्दु धर्मावलम्बी आउने गरेका छन्। पशुपति क्षेत्र सरसफाइमा केही कमजोरी देखिए पनि भक्तजन उत्साहित देखिए। समूह समूहमा रहेका उनीहरूले शिव महिमा गाउँदै भनिरहेका थिए-जय शम्भो, जय शम्भो!

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न रौतहटबाट आएका जितकुमार गुप्ता र उनकी पत्नी मीना गुप्ताले पनि शौचालयको व्यवस्था राम्रो नभएको गुनासो गरे। ‘पशुपतिनाथ मन्दिर क्षेत्र झकिझकाउ हुनेगरी सिँगारिएको छ तर यत्रतत्र सुकाइएका कपडाले त्यसको सौन्दर्य घटेको छ,’ जितकुमारले भने, ‘यसतर्फ कोषको ध्यान पुगोस्।’

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा पशुपत क्षेत्रमा आउने भक्तजनलाई फोटो खिच्न विभिन्न स्थानमा सेल्फी प्वाइन्ट बनाएको छ। भक्तजनले मनोरन्जन लिन सकुन भनेर विभिन्न स्थानमा सेल्फी प्वाइन्ट बनाइएको कोषको भनाइ छ। सेल्फी प्वाइन्टमा सेल्फी खिच्न भक्तजनको भिड लागेको थियो। यसले भक्तजनलाई निकै रमाइलो अनुभूति भएको त्यहाँ भेटिएकी सुनिता खड्काले बताइन्।

प्रकाशित: ६ फाल्गुन २०७९ ००:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App