३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुध्रिएन कर्णाली राजमार्गको व्यथा!

भगवान् भरोसामा यात्रा गर्न बाध्य स्थानीय

नाजुक बनेको कर्णाली राजमार्गको कालिकोट खण्ड। तस्बिर: ललित/नागरिक

‘कर्णालीमा बाटो खुल्दा, भुइँमै खुट्टा छैन

मायालुलाई भेट्न जाँदा, कुनै चिन्ता भैन

झल्को लाली ओठको

बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’-लोकगायक मिलन लामाको एउटा गीत एक समय निकै चर्चित थियो।

तर मुलुककै पिछडिएको क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको यो राजमार्ग अन्ततः कर्णालीवासीका लागि सधैं पीडाको विषय बन्यो। कर्णाली राजमार्गको यात्रा सबैका लागि भगवान् भरोसाजस्तै भयो। कर्णाली राजमार्ग विगत लामो समयदेखि मृत्यु मार्गको रूपमा चिनिँदै आएको छ। सरकारले यहाँ भएका विभिन्न अप्ठ्यारा सडक र पुलहरूलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउन करोडौं रकम खर्च पनि गरेको छ।

खर्च गरेकामध्ये कतिपय काम सम्पन्न भएर गुणस्तरीय भएका छैनन् भने कतिपय काम ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्पन्न हुन सकेका छैनन्। ठेकेदारको लापरबाहीका कारण कर्णाली राजमार्गअन्तर्गत कालिकोट–जुम्ला सडकमा निर्माण गरिने टाकुल्ला पुल १२ वर्षदेखि अलपत्र छ । ३ करोड रूपैयाँमा पुल निर्माण गर्नेगरी आर्थिक वर्ष २०६८/६९ मा जागृति–तुल्छी दुर्गा जेभीले निर्माणको जिम्मा लिएको थियो।

उक्त कम्पनीले काम नगरेपछि २०७४ सालमा ठेक्का तोडिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । फेरि ठेक्का नहुँदा निर्माणको काम अलपत्र छ।

सोही सडकखण्डअन्तर्गत दैलेख खण्डको जाक्सी खोलामा ढलान गर्न मात्र बाँकी राखिएको पुलका सरियामा खिया लागिसकेको छ। पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोसी र कबिर जेभीले कामको ठेक्का लिएको छ। अहिले पुल निर्माणा अलपत्र परेको छ। न त सम्बन्धित निकायले चासो दिएका छन् न त ठेकेदार कम्पनीहरूले निर्माण पूरा गरेका छन्।

विगत १२ वर्षदेखि राजमार्गमा यात्रा गरिरहेका आठबिस नगरपालिका दैलेखका नवीन विष्टले पुल अड्याउने फलामका रडमा खिया लागिसकेको बताउँदै सम्बन्धित निकायले देखाएको मौनताप्रति प्रश्न गर्दै तत्काल काम ठग्ने ठेकेदारलाई कालो सूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने कामको थालनी सरकारले गर्नुपर्ने बताए।

विष्टले सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधिअनुसार सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परीक्षण, जनश्रमदानलगायत कुरामा सुरुवातदेखि चासो नदेखाउने गरेकाले ठेकेदारले सरकारलाई झुक्याउने गरेको बताए।

दैलेख, कालिकोट र जुम्लाखण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका विभिन्न दर्जन बढी कम्पनी भागेका छन्। कतिले कामभन्दा धेरै रकम फर्जी बिलका आधारमा असुल गरिसकेका छन्। ठेकेदार कम्पनीले काम गरेनगरेको नियमन गर्ने निकायको रूपमा रहेको सडक डिभिजन कार्यालय सुर्खेतले कामको गुणस्तर भएनभएको अनुगमन गर्न खट्ने प्राविधिकको लापरबाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको कालिकोटका जीवन देवकोटाको आरोप छ।

दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्गअन्तर्गत रहेका टाकुल्ला र जाक्सी खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदार फरार रहेको सडक भिभागले जनाएको छ। आफूहरूले बारम्बार निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई ताकेता गर्दा पनि वास्ता नगरेपछि निर्माणको जिम्मा लिएका कम्पनीलाई पत्राचार गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। 

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App