coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सांसद भण्डारीको उपचार मुम्बईमा

जलेर घाइते भएकी आमा हरिकलाको निधन

आफ्नै भान्छामा खाना पकाउने (एलपी) ग्यासको आगोले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई कीर्तिपुर अस्पतालको सल्लाहमा उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनको थप उपचार मुम्बईस्थित नेसनल बन्र्स अस्पतालमा भइरहेको छ। श्री एअरलाइन्सलाई एअर एम्बुलेन्समा रूपान्तरण गरेर भण्डारीलाई दिउँसो मुम्बई लगिएको हो।

सांसद भण्डारीको समस्याअनुसारको उपचार गर्न जनशक्ति र प्रविधि दुवै कमी भएकाले उनलाई मुम्बई लैजान रेफर गरिएको कीर्तिपुर अस्पतालको बर्न प्लास्टिक सर्जरी विभागका प्रमुख डा. किरण नकर्मीले बताए। भण्डारीसँगै स्वास्थ्य टोली पनि मुम्बई गएको छ। टोलीमा क्रिटिकल केयरका लागि डा. प्रकाश तिवारी, एनेस्थेसियातर्फ डा. बृहस्पति, उडानतर्फ डा. रोशन शर्मा, प्यारामेडिक्सतर्फ डा. दिनेश राई र इआरतर्फ डा. सागर महर्जन र राज तामाङ छन्।

बुद्धनगरस्थित आफ्नै घरमा बुधबार राति ग्यासको आगोले जलेर सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएपछि उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। हरिकलाको बिहीबार बिहान उपचारका क्रममा सोही अस्पतालमा निधन भयो।  

सांसद भण्डारीको अनुहार, हात र खुट्टा जलेका छन्। अस्पतालले जलेका बिरामीको उपचार तथा प्लास्टिक सर्जरी गर्दै आए पनि सांसद भण्डारीको श्वासनलीसमेत जलेकाले सफल उपचारका लागि मुम्बई पठाएको डा. नकर्मीको भनाइ छ। यसअघि यस्तै समस्या भएका केही बिरामी आफ्नै इच्छाले भारत गएको उनले बताए। अस्पतालले भने पहिलोपटक सांसद भण्डारीलाई मुम्बई लैजान सिफारिस गरेको हो।  

सांसद भण्डारीको श्वासनली समेत जलेकाले सफल उपचारका लागि परिवारकै इच्छाअनुसार मुम्बई लैजान सिफारिस गरेको डा. नकर्मीले बताए। ‘यो उपचारका लागि हामीसँग न तालिमप्राप्त जनशक्ति छ न प्रविधि नै,’ उनले भने, ‘भण्डारीको श्वासनलीमा ग्याँस, तातो हावा र धुवाँले असर गरेको छ, यो नली बिस्तारै सुन्निएर जान्छ।’  

जलेर यस्तो समस्यामा परेका बिरामीको उपचारका लागि तालिमप्राप्त जनशक्ति र प्रविधि मुम्बईस्थित नेसनल बन्र्स अस्पतालमा पर्याप्त रहेको उनले बताए। यस्ता बिरामीको उपचारमा रिप्लेसमेन्ट थेरापी, छालाको प्रतिस्थापनजस्ता शल्यक्रियाको आवश्यकता पर्छ। यी प्रविधि यो सामुदायिक स्तरको अस्पतालमा व्यवस्थापन भइनसकेको उनले बताए। ‘निकट भविष्यमै सेवा दिन जनशक्ति र तालिमको तयारी गरिरहेका छौं, भवन निर्माणका लागि सरकारले व्यवस्था गरिदिओस्,’ उनले भने। सांसद भण्डारीको जस्तो जलनमा मृत्युदर उच्च रहेको अस्पतालले जनाएको छ। ‘यस्तो जलनमा ५० प्रतिशतभन्दा बढी मृत्युदर छ,’ उनले भने। उनका अनुसार श्वासनलीको जलनपछि कतिपय बिरामीको मिर्गौला बिग्रिने तथा अन्य जटिलता आउने सम्भावना हुन्छ। जटिल समस्या आए त्यसअनुसारको उपचार दिन सक्ने गरी जनशक्ति र प्रविधि तयारी अवस्थामा हुनुपर्ने भए पनि कीर्तिपुर अस्पतालमा यो सबै व्यवस्थापन हुन सकेको छैन। भण्डारीको शरीर ३० प्रतिशतजति जलेको छ। ३० देखि ४० प्रतिशत भाग जले यो अस्पतालमा पनि उपचार भई निकोसमेत हुने गरेकोमा भण्डारीको श्वासनलीमा समेत असर देखिएकाले मुम्बई पठाउनुपरेका चिकित्सकको भनाइ छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App