२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सेजको निर्माणाधीन भवन भत्किँदा दुई जना घाइते

सिमरा सेजमा गुणस्तरहीन सामग्री प्रयोगको आशंका

ढलानको क्रममा भत्किएको सेजको प्रदर्शनी भवनको निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ। तस्बिर: नागरिक

जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ‘सेज’ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको आशंका गरिएको छ। गुणस्तरहीन सामग्री प्रयोग गरिएको कारण सेजको प्रदर्शनी हलको ढलान भइरहेको अवस्थामा सोमबार बेलुका छत भत्किएको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा दुईजना मजदुर घाइते भएका छन्। घाइते हुनेमा मोरङ जिल्ला सुनबारी नगरपालिका-६ का अर्जुन मुर्मुरे र मोहन मुर्मुरे रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन्।

घाइते भएकाहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था समान्य रहेको बोगटीले बताए।

हलको छत भत्किएपछि त्यसको अनुसन्धानका लागि सह-ठेकेदार इटहरीका ४५ वर्षीय प्रदीप बजगाईंलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका ठेकेदारविरुद्ध कुनै उजुरी नआएपछि उनलाई छोड्नुपर्ने अवस्था आएको उपरीक्षक बोगटीले बताए।

भत्किएको सो भवनको छतको निरीक्षण गर्न पुगेका प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले निरीक्षणको क्रममा निर्माण कम्पनी र सेजका प्राविधिकले निर्माण सामग्रीदेखि त्यसमा प्रयोग गरिने टेकासम्ममा समेत बदमासी गरेको आरोप लगाएका छन्।

‘ढलानकै क्रममा छत भत्किएपछि सबैको मिलेमतोमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भेटियो,’ उनले भने, ‘नत्र यो पत्तै नलाग्ने कुरा थियो।’

मिलेमतो गरेर सेजमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्ने र गराउने सबै जनालाई अनुसन्धान गरेर कारबाही गर्नुपर्ने मागसमेत श्रेष्ठले राखे।

सेजभित्र प्रदर्शनी हल, चमेना गृह, पर्किङ क्षेत्र, मुख्य प्रवेशद्वार लगाएत संरचना बनाउन काठमाडौंको गौरी पार्वती/प्रतिष्ठा निर्माण कम्पनीले निर्माणको कार्य गरिरहँदा ढलानकै क्रममा प्रदर्शनी हलको ढलान भत्किएको ‘सेज’ सब इन्जिनियर अजय चौधरीले बताए। भत्किएको प्रदर्शनी हल सहितको भौतिक संरचना बनाउन आव २०७७/७८ मै निर्माण कम्पनीले करिब ९ करोडमा ठेक्का सकार गरेर काम गरिरहेको चौधरीले बताए।

छतको ६० प्रतिशत ढलान कार्य भइसकेपछि अचानक छत भत्किन थालेको चौधरीले बताए। छत ढलानका लागि प्रयोग गरिएका टेका भाँचिएर यो घटना घटेको उनले जाकारी दिए। सो भवनको २०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। शिलान्यास गरिएको ४ वर्षमा सेजमा उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा पाँच अर्बभन्दा बढी खर्च गरिसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App