७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

हरिहर गुफा चिनाउन वृत्तचित्र

पोखरा–२० भलामको हरिहर सन्यास आश्रम। तस्बिरः सन्देश÷नागरिक

पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ।  ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो। हरिहर सन्यास आश्रमको व्यवस्थापन तथा स्थानिय समाजसेवी दीनेश बस्नेतको पहलमा निर्माण गरिएको सो वृत्तचित्रको गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गरे।

आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक महत्वलगायत समेटेर वृत्तचित्र निर्माण गरिएको वृत्तचित्र निर्माणकर्ता दीनेश बस्नेतले जानकारी दिए। समुन्द्री सतहदेखि १ हजार ३ सय मिटर उचाईमा रहेको यो आश्रम १८ औं शताब्दीमै स्थापना भएको अनुमान गरिएपनि औपचारिक लिखत भने वि.स. १९०६ बैशाख शुक्ल (गंगा) सप्तमीमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दाको मात्रै भेटिएको छ।

अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा शहरका अधिकांश भाग दृश्यावलोकन गर्न सकिने आश्रम प्राकृतिक हिसाबले मनोरम र रमणीय छ । पोखराबाट करीब आठ किलोमिटर नजिक रहेको यहाँ तीजको श्रीपञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचतुरदशीका दिन भक्तजनहरुको भीड लाग्ने गर्दछ। बाला चतुदर्शीमा त यहाँ सत्बिज छर्नेको घुँईंचो लाग्ने गर्दछ।

ऐतिहासिक, धार्मिक र प्राकृतिक सबै हिसाबबाट महत्व बोकेको आश्रम प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले आश्रमको प्रचार प्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको निर्माणकर्ता बस्नेतको भनाई छ।

मन्दिरका पीठाधिस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले हरिहर सन्यास आश्रम तपस्वीहरुको तपोभूमि रहेको बताए। उनले भने, ‘जल प्रदुषण, वायु प्रदुषण, मोटर प्रदुषणबाट मुक्त यो आश्रम साधु, सन्त, महात्माहरुले तपस्या गर्ने तपस्वीहरुको तपोभूमि हो। आध्यात्मिक चिन्तका लागि उपयुक्त यो आश्रममा तपस्वीहरुले ध्यान गर्ने गुफा पनि छ।’

गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले पोखराको नजिक भएरपनि ओझेलमा परेको आश्रमको विकास र बिस्तारका लागि आफूले सक्दो सहयोग गर्ने बताए। आश्रमका कोषाध्यक्ष रामजीप्रसाद पौडेलले सहयोग संकलन गरेर वृत्तचित्र निर्माण गरिएको जानकारी दिए ।

प्रकाशित: २९ माघ २०७९ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App