१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

चितवनमा जेठ १३ देखि पाेलियो विरुद्धको खोप अभियान

चितवनमा पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाइने भएको छ।

यही जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय चितवनले सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।

२०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै खोप लगाउन थालिएको कार्यालयले जनाएकाे छ।

यसअघि छुटेका साढे ३६ हजार ७७४ जना बालबालिकाहरूलाई आईपीभी खोप दिइने स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए। 

नेपालमा २०७१ बाट पोलियोको खोप लगाउन सुरु गरिएको थियो। बिचमा विश्वव्यापी खोपको अभाव भएका कारण खोप दिन रोकिएको दवाडीले बताए। खोप अभियानबारे तयारी पुरा भएको उनले सुनाए।

जिल्लामा ५१० वटा खोप केन्द्र तोकिएको छ। स्थानीय तहका विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ। विद्यालय बाहिरका बालबालिकालाई स्थानीय स्वास्थ्य केन्द्रमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

खोपका लागि सात स्थानीय तहमा ४१२ स्वास्थ्यकर्मी खटिने छन्। जिल्लाका पालिकामा फरक-फरक समयमा खोप लगाइने उनले जानकारी दिए। रत्ननगर नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, माडी, खैरहनी र राप्ती नगरपालिकामा जेठ १६ देखि १८ गतेसम्म, कालिका नगरपालिकामा जेठ १३ देखि १६ गतेसम्म, इच्छाकामना गाउँपालिकामा जेठ १४ देखि २० गतेसम्म र भरतपुर महानगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म खोप लगाइने छ।

खोप अभियान सफल पार्नका लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु तथा शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ। पोलयो भाइरसद्वारा लाग्ने रोग हो यो। मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने उनी बताउँछन्।

सबै उमेर समूहमा पोलियो देखिए पनि मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने उनको भनाई छ। विश्वमा अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रहेको उनले बताए। नेपाल २०६७ सालमा पोलियो मुक्त भएको थियो।

खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन्। पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो। मुखबाट दिने पोलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ।

प्रकाशित: ७ जेष्ठ २०८१ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App