५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा ६ लेन सडकको टुंगो छैन, पुतलीलाइन सडक भने ५० फिट विस्तार गर्ने तयारी

सोमबार धरानको पुतलीलाइन सडक ५० फिट विस्तार गर्न नाप जाँच गरिँदै। तस्बिर: रोहित राई

कोशी राजमार्गको ६ लेन सडक धरानको भानु चोक बजार हुँदै विस्तार गर्ने कि बाइपास गर्ने भन्ने टुंगो लागिसकेको छैन। यही विवादले तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडक विस्तार कार्यमा अवरोध भएको छ।

६ लेन सडक विस्तार टुंगो नलागे पनि भानु चोकसँगै जोडिएको पुतलीलाइन सडक भने ५० फिट मापदण्ड बमोजिम विस्तार गर्न सम्बन्धित वडा कार्यालयहरूले पहलकदमी लिएका छन्।

भानु चोकदेखि पश्चिम भगवती मन्दिरको सिमाना खहरेसम्मको पुतलीलाइन सडक वडा नं ९ मा पर्छ भने त्यहाँदेखि पश्चिम वडा नं १० मा पर्छ। वडा नं ९ र १० दुवै कार्यालयले यो सडक ५० फिट मापदण्ड अनुसार विस्तार गर्न पहल थालेको हो। पुतलीलाइन सडक धरानको प्रमुख व्यापारिक तथा व्यस्त सडकमा पर्छ। अहिले यो सडक अधिकतम ३० फिटमा बनेको छ।

सोमबार धरानको पुतलीलाइन सडक ५० फिट विस्तार गर्न नाप जाँच गरिँदै।

दुवै कार्यालयले सडक विस्तारको लागी सहजीकरण समिति गठन गरेको छ। सहजीकरण समितिको पहलमा वडा १० ले गत साता नै सर्वे तथा नाप जाँच कार्य पनि सम्पन्न गरिसकेको छ भने आज (सोमबार) वडा नं ९ ले पनि उपमहानगरपालिकाबाट प्राविधिक झिकाएर नाप जाँच कार्य गरेको छ। वडा नं १० का अध्यक्ष विवेक राईका अनुसार गत साता गरिएको नाप जाँचबाट सडक मापदण्डले २७ वटा घरलाई छोएको छ। ती मध्ये १२ वटाको सटर भित्रैसम्म पुग्छ भने अरु सटर वा ढोकासम्म छोएको उनले बताए।

‘अब यही साताभित्र २७ वटै घरधनीलाई बोलाएर छलफल गर्ने तयारीमा छौं, ’वडाअध्यक्ष राईले भने।

यता, वडा नं ९ का अध्यक्ष रुपेश आचार्यले पनि ५० फिट मापदण्डभित्र के कति घर तथा भौतिक संरचनाहरू पर्छन् भनेर नाप जाँच गरिएको बताए। कति घर वा संरचना ५० फिट मापदण्डभित्र पर्छ भन्ने प्रष्ट भएकोले अब उपमहानगरपालिका र सम्बन्धित घरधनीहरूसँग बसेर छलफल गरेपछि निर्णय लिइने अध्यक्ष आचार्यले बताए।

उनले भने, ‘कुन्दन श्रेष्ठको संयोजकत्वमा सहजीकरण समिति बनाएका छौं। उक्त समितिले पनि सहजीकरण गर्नेछ, वडाको तर्फबाट पनि हामी गछौं। घर भत्कँदा दुःख लाग्नु स्वाभाविकै हो, तर सडक विस्तार पनि आवश्यक छ। सहमतिबाट नै अघि बढ्छौँ।’

नाप जाँच कार्य भइरहँदा केही घरधनीहरूले असन्तुष्टि जनाए भने केहीले सडक विस्तार हुँदा घर भत्किए पनि सकरात्मक प्रतिक्रिया दिएका थिए। स्थानीय रामकुमार श्रेष्ठले घर थोरै भत्किने भएपछि सडक बढ्दा राम्रो हुने भन्दै खुसी व्यक्त गरे। तर, अर्का घरधनी शारदाप्रसाद अधिकारीले पहिला पनि सडकको लागी धेरै जग्गा छोडेको र अब फेरि घर भत्किने भए सहमति नदिने प्रतिक्रिया दिए। वडा ९ तर्फका सहजीकरण समिति संयोजक कुन्दन श्रेष्ठले केही घरहरूलाई पनि सडकले छुने भएकोले समस्या देखिएको तर निरन्तर संवाद, छलफल गरेर सहमतिमा नै सडक विस्तारको पहल गर्ने उनले बताए।

प्रकाशित: २३ माघ २०७९ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App