१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार

बलि दिन भारत पुर्‍याइएको अवस्थामा वाग्मती प्रदेशकी १६ वर्षीया बालिकाको उद्धार गरिएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनको उद्धार गरेको हो।  

माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन्। आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर भारत पुगेकी थिइन्। भारतको नयाँ दिल्लीमा रहेका तान्त्रिक बाबाले मन पराए धेरै पैसा पाउने भनी साथीले प्रलोभन देखाएपछि उनी अध्ययन छाडेर भारत पुगेको ब्युरोले जनाएको छ। मंसिर १७ देखि पुस १९ गतेसम्म काठमाडौंमा बन्धक बनाइएकी ती बालिकालाई पुस २० गते काठमाडौंबाट सुनौली हुँदै २२ गते भारत पुर्‍याइएको ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

तान्त्रिक बाबाले बलि दिन रजस्वला नभएका कम्तीमा ५ फिट ४ इन्चभन्दा बढी उचाइ भएका बालिकाहरू, शरीरमा कुनै प्रकारको दाग वा टाटु नभएको र शरीरका कुनै अंगमा चोटपटक नभएका नाबालिकाहरूको खोजी गर्ने गरेको पनि श्रेष्ठले जानकारी दिए। त्यसैले पनि उक्त बालिकालाई भारत लानुपूर्व नेपालमा एकपटक शरीर जाँच गरिएको पनि ब्युरोले जनाएको छ।  

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भारतको आउटर डिस्ट्रिक रनहोेला थानाको वडा एरियाअन्तर्गत मंगलबजार गल्ली नम्बर २, बापरुल्ला विहार दिल्लीमा रहेको घरको पहिलो तलाबाट माघ १९ गते राति ९ बजेर ४८ मिनेट जाँदा ब्युरोको टोलीले बालिकाको उद्धार गरेको हो। बालिकालाई भारत पु¥याइएपछि तीनजना फरक तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा भेट्टाउँदै गर्दाको अवस्थामा ती बालिकालाई आउटर डिस्ट्रिक रनहोला थानाको एरियाबाट भारतीय प्रहरी टोलीसमेतको सहयोगमा उद्धार गरिएको हो।

दुई महिनाको अवधिमा आफूलाई बन्धकसहित शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको बालिकाले ब्युरोलाई बयान दिएकी छन्। बालिकाको उद्धारपछि हाल सामाजिक संस्थालाई जिम्मा लगाइएको श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न ६ प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक श्रेष्ठले बताए।  

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि १४६ मुद्दा मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन्, जसमा २११ जना पीडित, २९१ जना अभियुक्त छन् भने १८० जना पक्राउ परेको ब्युरोको तथ्यांक छ। चालु आव २०७९/८० को पुससम्म ६८ मुद्दा ब्युरोमा आएका छन्, जसमा ९९ जना पीडित, १४१ जना अभियुक्त छन् भने ८६ जना पक्राउ परेका छन्। हालसम्म ब्युरोले ४३८ जनाको उद्धार गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।  

१२ महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै विभिन्न बहाना बनाएर भारत पुर्‍यााइएका १२ नेपाली महिलाको मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा उद्धार गरिएको छ। भारतबाट दुबई हुँदै भिजिट भिसामा इथियोपिया लैजान लागिएका महिलाको भारतको जयपुरबाट उद्धार गरिएको ब्युरोले जनाएको छ। उद्धार गरिएका महिला २० देखि ३० वर्ष उमेरका दुईजना, ३१ देखि ४० वर्षका आठजना तथा ४१ भन्दा माथिका दुईजना रहेको ब्युरोले जनाएको छ। उद्धार गरिएका सबैजनालाई काठमाडौं ल्याइसकिएको ब्युरोद्वारा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। मानव बेचबिखनका क्रममा नेपालबाट भारत लैजाने नेपाली महिला दिनप्रतिदिन बढ्दै गएको ब्युरोको भनाइ छ।

प्रकाशित: २१ माघ २०७९ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App