१७ चैत्र २०७९ शुक्रबार
समाज

कमला नदीमा विषादी र करेन्टको प्रयोग गर्नेलाई ७५ सय जरिवाना

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन।

दुधौली नगरपालिकाको एउटा वडाले कमला नदीमा विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

कमला नदीमा विषादी हाली अथवा कानुन भन्दा बाहिर गएर कुनै किसिमको आपराधिक कार्य नदीमा गरेको पाइएमा ७५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको दुधौली नगरपालिका ६ नम्बर वडा कार्यालयले जनाएको छ।

दुधौली नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कमानसिंह आलेमगरले नदीमा जथाभाबी विषादीको प्रयोग गर्ने तथा करेन्ट लगाएर माछा मार्ने क्रियाकलाप बढ्दै गएकाले कमला नदीको माछा नै लोप हुने अवस्था आएपछि कडा नियम लागु गर्न परेको जानकारी दिए। 

'हामीले धेरै पटक स्थानीयलाई विष नदीमा नहाल्न आह्वान गर्दागर्दै जथाभाबी विष प्रयोग गर्ने तथा करेन्ट लगाउने बढ्दै गएको पाइयो, उनले भने, त्यसैले हामीले निर्णय गरेर कारबाही अगाडी बढाइसकेका छौ।'

उनले सूचना जारी भएपछि पनि विष हालेको पाइएपछि केही मानिसलाई जरिवाना गराई सचेत गराइसकिएको बताए। सो वडाले जथाभाबी मदिरा सेवन गरेर कार्यक्रममा उपस्थित हुने र कार्यक्रमको उद्देश्य अनुसार काम गर्न असहज हुन थालेको भन्दै सार्वजनिक स्थानमा मदिरा सेवन गर्नेलाई समेत कडा कारबाही गर्ने भनिएको छ।

'कुनै पनि सार्वजनिक स्थल अथवा गाउँ घरमा मदिरा सेवन गरी बैठक सभा तथा व्यक्ति समूहलाई असर पुग्ने गरी क्रियाकलाप गरिएको भेटिएमा पच्चिस सय जरिवाना सहित कानुनी कारबाही गर्ने निर्णय गरेका छौ, वडा अध्यक्ष आलेमगरले नागरिकसँग भने, जथाभाबी मदिरा सेवनले वडाका युवाहरुनै बिग्रने अवस्था आएकाले यस्तो निर्णय गरेका हौ।'

उनले मदिरा सेवन मात्रै नभएर जथाभाबी जुवा तास खेल्नेलाई समेत कडा कारबाही हुने जानकारी दिए। 'हामीले सूचना टाँस गरेरै जथाभाबी जुवा तास खेल्नेलाई कारबाही गर्ने गरी निर्णय भएको छ, उनले भने, वडाभित्र तास जुवा खेलेको वा खेलाएको भेटिएमा ५० बर्ष भन्दा माथि उमेर समूहकालाई पच्चिस सय र ५० वर्षभन्दा कम उमेर समूहकालाई पाँच हजार सम्म जरिवाना गरी कानुनी कारबाही गरिनेछ।'

वडाअध्यक्ष आले मगरका अनुसार देशनै आर्थिक सङ्कटतर्फ गइरहेको समयमा युवा तथा पाका वर्गहरू जुवा तासमा दिनभर बिताउने गरेकाले यस्तो निर्णय भएको हो।

जुवा तास खेल्दा समयको बर्बादी सँगै सम्पत्तिको सत्यानाश हुन्छ, उनले भने 'त्यसले पारिवारिक कलह आउँछ र समाजलाईनै असर पुग्ने देखिएपछि यस्तो निर्णय भएको हो, यो निर्णय कार्यान्वयन गर्छौ कारबाही पनि गर्छौ।'

उनका अनुसार यसरी कारबाही गरी जम्मा भएको जरिवाना स्वरूपको रकमले सोही गाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै विकास निर्माणको कार्यमा लगाउने निर्णय भएको छ। 

उनले यस्ता क्रियाकलाप गाउँमा भए नभएको बुझ्ने वडा कार्यालयकै वडा सदस्यको नेतृत्वमा अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको र सो समितिले दैनिक वडामा गस्तिनै गर्ने व्यवस्था गरिएको जनाए।

प्रकाशित: १८ माघ २०७९ १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App