२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

कैलालीमा ‘उल्लु उत्सव’ !

‘उल्लु उत्सव’। यो शब्द झट्ट सुन्दा अचम्म लाग्न सक्छ, तर यो वास्तविक हो। सुदूरपश्चिममै पहिलोपटक कैलालीमा उल्लु अर्थात् लाटोकोसेरो उत्सव हुने भएको छ। किसानको साथीका रूपमा मानिएको लाटोकोसेरो अवैध तस्करीका साथै लोप हुन थालेपछि यसको महत्वका बारेमा जनचेतना जगाउन कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित माघी थारू गाउँ होमस्टेमा माघ २० र २१ गते लाटोकोसेरा तथा हुचिल उत्सव हुने भएको हो।

चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण नेटवर्क कैलालीको संयुक्त आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो। किसानको साथीका रूपमा चिनिने उल्लु अर्थात् लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले नेपालमा आयोजना गरिँदै आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेको थिएन। उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्या–पर्यटन विकासमा पनि टेवा पुर्‍याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लु संरक्षणकर्मी राजु आचार्यले बताए। विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य घोषणापछि चरा संरक्षणका क्षेत्रमा उल्लु उत्सव हुन थालेको भन्दै स्थानीय खुसी भएका छन्। विश्वमा पाइने २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छ। नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये पनि घोडाघोडी ताल क्षेत्रमा मात्रै १० प्रजातिका लाटोकोसेरो पाइने गरेको छ।

नेपाल सरकारको तथ्यांकअनुसार आठ प्रजातिका लाटोकोसेरो चोरीसिकारी र अवैध कारोबारका कारण राष्ट्रिय स्तरमै दुर्लभ भए पनि विभिन्न संघसंस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानमा सबै प्रजाति प्रभावित देखिन्छन्। नेपालबाट लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको आचार्यले बताए। अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो। तसर्थ पनि लाटोकोसेरोलाई किसानको साथी मानिन्छ।

यसैगरी किसानको साथीका रूपमा रहेको लाटोकोसेरोलाई मानिसले नै सही रूपमा पहिचान गर्न नसक्दा उसैको वंश विनाश गर्दै आएका छन्। तसर्थ पनि लाटोकोसेरोलाई जोगाउनु जरुरी रहेको चरा संरक्षणकर्मी तथा चरा संरक्षण नेटवर्कका सदस्य जमुना न्युरेले बताइन्। चारवटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले चार महिनाको अवधिमा तीन हजार मुसा सिकार गर्ने भएकाले यो किसानको साथी भएको पनि उनी बताउँछिन्। लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलका बारेमा विभिन्न जानकारीमूलक म्युजियम प्रदर्शनी गरिने बताइएको छ। उत्सवमै स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देश दिइने उनले बताइन्। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा उत्सव आयोजना भइसकेको छ। उत्सवमा नेपालभरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघसंस्थाका, संरक्षणकर्मी, सरोकारवाला निकाय, स्थानीय विद्यालय, कलेजका विद्यार्थीलगायतको सहभागिता रहने बताइएको छ। 

प्रकाशित: १५ माघ २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App