२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

समृद्धिको यात्रामा कर्णाली करिडोर

विकासका हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन्। ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ।

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ। कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालिएको २१ वर्ष भएछ।

कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्लाको सिमीकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६ सय ८२ किलोमिटर छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर रहेको छ। कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालिकोटको नरहरिनाथ गाउँपालिका– ८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको एक सय ९६ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ।

चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको एक सय ४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको छ। त्यो सडक खण्डको काम पनि तीव्र रूपमा भइरहेको छ। २०७१ चैत ५ देखि नेपाली सेनाले काम सुरु गरेको सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो।

कर्णाली करिडोरअन्तर्गतको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये एक सय ९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन्। बाँकी सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाले जनाएको छ।

‘नेपाल सरकारको हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको एक सय ४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ’, उनले भने, ‘कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुन्छ।’ ठेकेदारमार्फत काम गराइरहेको आयोजनाले कडा चट्टाने भीर भएकाले निर्माण कार्यमा समस्या भएको यादवले बताए। विस्फोटक पदार्थको सहयतामा नेपाली सेनाले हुम्ला सडक खण्डमा पनि काम गरिरहेको जानकारी दिए।

बजार क्षेत्र वृद्धि

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले आर्थिक गतिविधि बढाएको हो।

कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँ बजारका रूपमा विस्तार भएको बाजुरा स्वामीकातिका गाउँपालिकाका पूर्वअध्यक्ष चिरञ्जीवी शाहीले बताए। ‘कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारी साधन चल्न थालेका छन्’, उनले भने, ‘अहिले यो सडक खण्डका दर्जनौं ठाउँ बजारका रूपमा विकास भएका छन्।’

कालिकोटको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायतका क्षेत्र बजारका रूपमा विकास भएका छन्। यी बजार व्यापारी केन्द्रका रूपमा स्थापित हुन थालेको कालिकोट पचालझरनाका भीमप्रसाद आचार्यले बताए।

‘यहाँ कर्णाली किनारमा रहेका फाँट विगतमा त्यतिकै मिल्किएका थिए’, उनले भने, ‘अहिले व्यापारिक नाकाका रूपमा विकास भएको छ।’

सडक सुविधा नहुँदा जितेगडा बजारसम्म पिठ्युँमा भारी बोकेर आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही उत्पादन गरी व्यापार व्यवसायमा संलग्न रहन थालेका छन्। ‘करिडोर क्षेत्रका धेरै ठाउँ बजारका रूपमा विकास भएको छ’, ‘विगतका पिठ्युँ भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दा गाडीमा सरर घरमै पुग्ने गरेका छन्।’

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिस तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगार गर्न जानेहरू तरकारी खेती गर्न थालेका छन्। गाउँगाउँमै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या रहेको स्थानीय बताउँछन्। कर्णाली करिडोर क्षेत्रमा उत्पादित वस्तु हिमाली तथा तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो मानिस कृषि पेसामा संलग्न रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

‘हामीले कृषि क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन दिने गरेका छौं’, उनले भने, ‘कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन गरिएका कृषि उपजहरूको बजारीकरण गर्न सजिलो भएको छ।’

बाजुरा जिल्लाको स्वामीकार्तिका–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई–भैंसीलाई खुवाउनुपर्ने अवस्था थियो। अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको बताइएको छ।

विगतमा परिवार पाल्न खेती किसानमा मात्र सीमित रहेका करिडोर क्षेत्रका स्थानीयले अहिले विभिन्न पेसा व्यवसायमार्फत आम्दानी लिन थालेका छन्। विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन्। पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही भन्छन्, ‘अहिले करिडोर क्षेत्रमा होटेललगायतका अन्य व्यापार व्यवसाय वृद्धि भएको छ। मानिसले राम्रो आम्दानी लिन थालेका छन्’, उनले भने।

प्रकाशित: ८ माघ २०७९ ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App