१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘बाटो साँघुरो हैन, गाडी नै धेरै’

‘बाटो साँघुरो भएको हैन, गाडी धेरै भएको हो, ‘बढ्दो सवारी जामबारे काठमाडौं स्कुल अफ ल का संस्थापक युवाराज संग्रौला भन्छन्, ‘सार्वजनिक यातायात सुलभ नहुने हो भने १० लेनको बाटो भए पनि सडक जाम घट्दैन।’  

युवा र यातायातको विषयमा संग्रौलले बोलेको एउटा सानो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली युवाको मनस्थिति र यातायातको गन्जागोललाई उनले सटिक ढंगले वर्णन गरेका छन्।

‘युवाहरू ठूला गफ गर्छन्, अनि बाबुको कमाइँबाट ६ लाख तिरेर साढे–गोरुजस्तो पल्सर चढ्छन्,’ उनले भने, ‘नेपाल बनाउने कुरा गर्ने युवाका यी पैसाहरू भारत र जापान पुग्छन्।’  

सकारले कम्तीमा ५ हजार सार्वजनिक बस किनेर काठमाडौंदेखि धुलिखेलसम्म राम्रोसँग चलाइदिने हो भने यातायातका थुप्रै समस्या समाधान हुने उनको बुझाइ छ। तर गाडी ल्याउँदा आउने ‘२ सय ८० प्रतिशत करले नेताहरूको ४ करोडको गाडी किन्नुपर्ने’ विवशतका कारण पनि व्यवस्थापनमा समस्या आएको उनको बुझाइ छ।  

अब नयाँ सोच भएकाले नयाँ चेतनाका साथ काम गर्ने हो भने निजी सवारी होइन, सार्वजनिक सवारीमा विशेष ध्यान दिनुपर्ने उनको बुझाइ छ। ‘यस्तो भयो भने राजधानीमा बस्ने ३० लाखमाध्ये ३० लाखले नै सवारी किन्नुपर्ने समस्याको अन्त्य हुनेछ,’ उनले भनेका छन्, ‘तर सरकारले सार्वजनिक सवारीको व्यवस्थापन नगरी सडक फराकिलो बनाउँन खोज्दा समस्या झनै बल्झेको छ।’  

संग्रौलाको भनाइ कोलम्बियाका प्रसिद्ध राजनीतिज्ञ एंव ट्राफिक इन्जिनियर इनरिक पेनालोसाले भनाइसँग पनि मेल खान्छ। उनले भनेका छन्, ‘सडक फराकिलो पारेर ट्राफिक व्यवस्थापन गर्छु भन्नु बलिरहेको आगोलाई मट्टितेल हालेर निभाउन खोज्नुजस्तै हो।’  

ट्राफिक व्यवस्थापनका अन्य पाक्षलाई ध्यान नदिई सडक मात्रै चौडा बनाउने प्रवृत्ति अहिलेका नेपालको राजधानीको अवस्थासँग मेल खान्छ। सडक चौडा पार्ने अभियानमा भत्काउन मात्र अघि सर्ने सरकारी नियतले सडक केही फराकिलो त बनेको छ तर जाम घटेको छैन।  

ट्राफिक इन्जिनियर आशिष गजुरेलको पनि संग्रौलाको जस्तै बुझाइ छ। उनी पनि सडक चौडा मात्र बनाएर समस्याको समाधान ननिस्कने बताउँछन्। ‘सडक चौडाको अभियानसँग ट्राफिक व्यवस्थापनका अन्य पाटा पनि सक्रिय पार्नुपथ्र्याे,’ उनले भने, ‘त्यो हुन नसक्दा अवस्था झनै बिग्रेको छ।’  

यातायातविज्ञ गजुरेल ट्राफिक जाम कम गर्न सहज उपाय बताउँछन्, ‘सार्वजनिक ठूला सवारीलाई प्रोत्साहन, साना निजीलाई निरुत्साहन।’ सर्वसाधारणको लागि सार्वजनिक सवारीसाधन सहज र सुविधायुक्त भए आफैं निजी सवारीसाधन कम हुने उनको बुझाइ छ। ‘सडक फराकिलो गरेर पनि केही हुनेवाला छैन,’ उनी भन्छन्, ‘जबसम्म ठूला सार्वजनिक सवारीलाई सडकमा ल्याउन सकिन्न।’  

उनले सडक चौडा पार्ने काम एउटा विकल्प मात्र बताउँदै ट्राफिक जामको रोग निदान गर्न सडक चौडास“ग गा“सिएका अन्य पूरक वैकल्पिक व्यवस्थामा पनि सुधार आउनुपर्ने बताए। सडक व्यवस्थापन, सवारीचालक शिक्षा, ट्राफिक प्रहरी, ट्राफिक बत्ती, सडक प्रशासन चुस्त रहनुपर्ने उनको बुझाइ छ।  

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट आफूहरू व्यवस्थापनको लागि रातदिन खटिरहेको सुनाउँछन्। वाग्मती प्रदेशमा दर्ता भएका करिब १७ लाख सवारीमध्ये राजधानीमा मात्र १० देखि १२ लाख गुड्ने उनी बताउँछ।  

‘१ हजार ७ सय ५० ट्राफिक प्रहरी यीनको व्यवस्थापनमा अहोरात्र खटिएका छन्, ‘भट्ट भन्छन्, ‘एकजना ट्राफिक प्रहरीले २ हजार ७ सय १७ वटा सवारीसाधन र ३ हजार सडक प्रयोगकर्ताको सुरक्षामा ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको छ।’ प्रतिकूल अवस्थामा पनि यात्रु र सवारीको सुरक्षामा ट्राफिक प्रहरी लागिरहने उनले सुनाए। सडक प्रयोगकर्ता र सवारी चालकमा चेतना नआएसम्म सोचेजस्तो ट्राफिक व्यवस्थापन गर्न कठिनाइ हुने उनले सुनाए।  

यातायात व्यवस्था विभागको वेबसाइटमा २०७५ सम्ममा मुलुककमा समग्रमा ३५ लाख सवारी दर्ता भएको उल्लेख छ। अधिकार विकेन्द्रीकरण भएसँगै पछिल्लो प्रष्ट तथ्यांक जानकारी नभएको विभागले जनाएको छ। मुलुकभर हाल ४८ लाख सवारीसाधन रहेको अनुमान गरिन्छ। समग्र सवारीसाधनमा ८० प्रतिशत मोटरसाइकल छन्। २ हजार किमिभन्दा बढी सडक रहेको उपत्यकामा १५ देखि १६ लाखसम्म सवारी गुड्ने अनुमान गरिन्छ। यसरी गुड्नेमा ८० प्रतिशतभन्दा बडी दुईपांग्रे सवारीसाधान रहेका छन्।  

यातायात व्यवस्थापनको जिम्ममा लिएको यातायात व्यवस्था विभाग पनि कति सवारी भित्राउने भन्ने कुरा सरकारको हातमा रहेको जनाउँछ। ‘कति सवारी भित्र्याउने न नभित्र्याउने सरकारले निर्धारण गर्नुपर्ने हो,’ यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु भन्छन्, ‘त्यसको पालना गराउने जिम्मेवारी भने हाम्रो रहन्छ।’

तर सरकारले निजी सवारी भित्र्याउने कार्यमा चासो नदिने संग्रौलाको बुझाइ छ। ‘मैले पहिल्लै नै भनिसकें। सवारी आयात गर्दा आउने २ सय ८० प्रतिशत भन्सार कर नै सार्वजनिक यातायातको सत्रु हो, ’ विगतको लामो अनुभव सुनाउँदै डा. संग्रौालले भने, ‘जवसम्म यो रोगको निराकरण गरिन्न तवसम्म राजधानीको यातायात समस्या सहज हुन सक्दैन।’

प्रकाशित: ५ माघ २०७९ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App