१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विपन्न नागरिकलाई जाडोमा न्यानो ब्लाङ्केट

न्यानो कपडास्वरुप विपन्न नागरिकलाई ब्लाङ्केट वितरण गर्दै प्रदेश सभा सदस्य प्रकाशबहादुर बम।  तस्बिरः पुष्पराज जोशी/नागरिक

गोदावरी नगरपालिकामा रहेका विपन्न समुदायका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो ब्लाङ्केट वितरण गरिएको छ।  धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यानो ब्लाङ्केट वितरण गरिएको हो।  

श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपालको आर्थिक सहयोगमा धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरियाले जाडोमा न्यानो बनाउन २ सय जनालाई ब्लाङ्केट वितरण गरिएको हो।  शनिबार अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरिएको थियो।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बमले सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट सहयोग गरिएको भन्दै धन्यबाद दिए।  उनले भने,‘सरकारले गर्ने काम एउटा सामाजिक संस्थाले गरिरहेको छ।  यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, यो एक पुण्य काम पनि हो। ’ उनले मनकारी संस्थाप्रति आभार पनि प्रकट गरे।  तराईमा पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर ब्लाङ्केट वितरण गरिएको धनगढी जेसीजका पूर्व अध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक करुणा कर पाण्डेले बताए।  उनले भने,‘भगवान श्री सञ्जय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसर पारेर गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट वितरण गरिएको हो। ’ सामाजिक कार्य अन्तर्गत श्री सञ्जय साई बाबाको जन्मोत्सवलाई भव्य र सम्झनायोग्य बनाउन विपन्नलाई ब्लाङ्केट सहयोग गरिएको उनले बताए।   कैलालीमा केही दिनदेखि लगातार शीतलहरूका साथै चिसो बढेको थियो।  चिसो र शीतलहरूका कारण विपन्न परिवारका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या परेकाले उनीहरुलाई न्यानो बनाउन ब्लाङ्केट सहयोग गरेको उनले बताए।  ‘हाम्रो सानो सानो सहयोगले न्यानो ब्लाङ्केट नभएर कठ्याङ्ग्रिएर रात काट्ने विपन्न परिवारका ज्येष्ठ नागरिक र बालबालिकालाई यो जाडोमा न्यानो हुन्छ भने किन सहयोग नगर्ने भनेर न्यानो ब्लाङ्केट वितरण गरिएको हो,’ उनले भने।  ‘विपन्न समुदायका ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो ब्लाङ्केट दिएर चिसो मौसममा राहत पुगोस् भनेरै यो कार्यक्रम ल्यायौँ,’ धनगढी जेसीजका महासचिव महेश्वर ओझाले भने,‘अति विपन्न ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका बालबालिका तथा अल्पसंख्यक समुदायलाई वितरण गरिएको न्यानो ब्लाङ्केटले धेरै राहत पुग्ने छ।  यस्तो कार्यक्रमलाई आगामी दिनमा अन्य ठाउँमा पनि निरन्तरता दिइने छ। ’ 

प्रकाशित: ३० पुस २०७९ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App