१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा चरा गणना सम्पन्न, संख्यामा कमी आएको प्रारम्भिक निष्कर्ष

तस्बिरः वसन्त ढुंगाना/नागरिक

चितवन जिल्लामा चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरेर सकिएको छ। गत आइतबार देखि सुरु भएको गणनाको फिल्डको काम मंगलबार सकिएको बर्ड एजुकेशन सोसाईटी चितवनका अध्यक्ष टिका गिरीले जानकारी दिए।

उनका अनुसार, चितवनमा चराको संख्या कम देखिएको छ। ‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन्। प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए।  

चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए।  यसवर्ष संख्या केही बढेपनि केही प्रजाति नबढेको प्रक्षेपण गरिएको छ। यसपटक पानीमा आश्रीत चराहरु गणना गरिएको हो। यो समयमा साइवेरिया, मंगोलिया, उज्वेकिस्तान, तिब्बत लगायतका उत्तरी क्षेत्रबाट बसाईसराई गरि चरा आउने गर्दछन्। त्यसमध्ये हास प्रजातीका चखेवाहरु नियमित आउने गर्दछन्। तर, पूर्वि चितनमा नियमित आउने खोयाँ हाँस प्रजातिको चरा यसपटक नदेखिएको अध्यक्ष गिरीले बताए। फिरन्तेको रुपमा आउने ग्रेटर वाईट फन्रेट ग्रुज चरा चितवनमा देखिएको छ।  

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी ७ तारिखबाट चरा गणना थालिए पनि चितवनमा एक दिन ढिला गरि ८ तारिकबाट गणना गरिएको थियो। लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म, भण्डाराको मत्स्य केन्द्रमागणना गरिएको थियो। त्यस्तै, नारायणी नदी, राप्ती नदीको कसराको पुलबाट गोलाघाटसम्म, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, पटना ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो।  

बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको अध्यक्ष गिरिले बताए। गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको थियो। क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ। चितवनमा ५० प्रतिशत चरा बसाई सराई गरि आउने गर्दछन्। नेपालमा ८८७ प्रजातिका चरा पाईने गर्दछ। त्यसमध्ये  चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाइन्छ। तर, पछिल्लो समयमा वातावरण प्रदुषित बन्दै जाँदा चराको संख्यामा कमी आउने चिन्ता बर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष बासु विडारीको छ। ‘चराले प्राकृतिक सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। तर उनीहरुको बासस्थान हामीले बिगार्दै लगेका छौँ,’ उनले भने, ‘पछिल्ला गणनामा चराको संख्यामा कमी  देखिन थालेको छ।’  

गर्मी समयमा दक्षिण भारतदेखि अफ्रिकासम्मका चरा नेपालमा आउने गर्दछन्। तर, जाडो मौसममा भने हिमाल पारीबाट चरा आउने गर्दछन्। गर्मी समयमा प्रजननका लागि चराहरु नेपाल आउने गर्दछन्।  

नेपालमा चरण गणना सन् १९८७ बाट हुँदै आएको छ। हिमाल य नेचरको नेतृत्वमा नेपालमा गणना हुने गर्दछ।  विश्वब्यापी रुपमा जनवरी २देख २२ तारिकसम्म हुने गर्दछ। विश्वमा ११ हजार भन्दा बढी प्रजातिका चरा पाइन्छन्। चरा गणना संगै उनीहरुको बास्थानको अवस्था समेत जानकारी दिईने गरिएको छ। जसले निति निर्माण गर्न सहज हुने उनले बताए।  

प्रकाशित: २७ पुस २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App