स्थानीयवासी र संरक्षण अभियन्ताले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै काठमाडाैंमा आन्दोलन सुरु गरेका छन्। खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका उनीहरूले सोमबार महानगरमा धर्ना दिँदै ज्ञापनपत्र बुझाए। खुलामञ्चमा भूमिगत पार्किङ बनाउन नहुने र त्यसलाई खुला पहुँचमा राख्नुपर्ने उनीहरूको भनाइ छ। ‘मेयर बालेन्द्र (बालेन) साह र उहाँको टिमको सद्बुद्धि पलाओस् भन्ने कामना गर्छौं,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने, ‘अहिलेको धरहरालाई नक्कली धरहरा भन्नेले किन नक्कली टुँडिखेल बनाउन खोजेको होला ?’ काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनाले स्थानीयलाई निकै त्रसित बनाएको उनले बताए।
‘साँझबिहान टहल्न मात्र होइन, भूकम्प आयो भने जीवन बचाउन कुदेर आउने ठाउँ पनि यही हो,’ श्रेष्ठले भने, ‘यस्तो ठाउँमा जनतासँग समन्वय नगरी काम अगाडि बढाउनु दुर्भाग्यपूण हो।’ सुन्धारामा पानी आएन भनेर चिन्तित हुने मेयर भूमिगत पानीको रिचार्ज सेन्टर मास्न लागेको देखेर दुःख लागेको उनले सुनाए। कात्तिक अन्तिम साता काठमाडौं महानगरपालिकाले वडा नम्बर २८ मा रहेको खुला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने योजना सार्वजनिक गरेसँगै स्थानीय र संरक्षण अभियन्ता आक्रोशित भएका छन्। सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरूले महानगरको गेटमा धर्ना दिएका थिए।
खुलामञ्च राजनीतिक आन्दोलनदेखि संस्कृति महोत्सवसम्मको साक्षीको केन्द्र हो। ‘हामी कसैको पक्ष या विपक्षमा रहेर होइन, जनप्रतिनिधिले विधि नमानेकाले नेपालको संविधानले दिएको हक प्रयोग गरेर आन्दोलनमा आएका हौं,’ अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारीले भने, ‘सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु सबै नागरिकको कर्तव्य हो।’
यसअघि सार्वजनिक रूपमा नै योजना अघि नबढाउन महानगरलाई चेतावनी दिँदै आएका सर्वसाधारणले महानगरले विस्तृत परियोजना प्रतिवेदन बनाउन थालेपछि आन्दोलन सुरु गर्नुपरेको बताए।
बालेनले भेट्ने समय दिएनन्
काठमाडौं महानगरको मूल ढोकामा धर्ना र प्रदर्शनपछि मेयर बालेन्द्र (बालेन) साहलाई ज्ञापनपत्र दिने कार्यक्रम रहे पनि मेयरले अहिले समय नभएको बताएपछि उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएको आयोजकले बताए। बालेनको सचिवालयले मेयरलाई माघको पहिलो सातासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेलका प्रवक्ता सञ्जय अधिकारीले बताए। ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले लोकतान्त्रिक पद्धतिमा जनता सबैभन्दा माथि रहेको भन्दै जनतासँगको परामर्शबिना महानगर एक्लैले कुनै काम नगर्ने बताइन्। ‘अहिलेको पहिलो प्राथमिकता पार्किङ हो कि होइन भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘वरिपरि भएका पार्किङले समस्याको सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनैपर्दैन।’
ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सबै चिज सहरको मुटुमा केन्द्रित गर्दा झनै समस्या थपिने बताए। उनले खुलामञ्च वरिपरि रहको क्षेत्रमा स्कुल, कलेज, अस्पताल रहेकाले यस्तो ठाउँमा पार्किङ बनाउन नहुने तर्क राखे। त्यस्तै उनले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिचार्ज सेन्टर’ रहेको बताउँदै सहरको खुला ठाउँलाई नास्न नहुने सुझाव दिए।
‘सबैतिर पार्किङ हुँदा फेरि सहरको मुटुमै किन चाहियो ?’ प्रधानले भने, ‘जनताको कुरा सुन्नुपर्छ। टुडिँखेलभित्र कुनै पनि हालतमा पार्किङ हुनुहुँदैन।’
साँघुरिँंदै टुँडिखेल
सहरका सर्वसाधारणले सास फेर्ने तथा दैविक प्रकोपका बेला आश्रय स्थलका रूपमा रहेको टुँडिखेल दिन प्रतिदिन साँधुरिँदै गएको छ। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र रहेको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ मा आइपुग्दा १४ प्रतिशतले खुम्चिएको तथ्यांकले देखाउँछ। ‘यही अतिक्रमणलाई नजरअन्दाज गर्न नसकेर खुला टुँडिखेलको आन्दोलन सुरु गरेका हौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सहरका अन्य ठाउँमा बन्दै गरेका र भएका विभिन्न विकल्प हुँदाहँुदै प्राकृतिक रिचार्ज क्षेत्रलाई विनाश नगर्न अनुरोध गर्छौं।’
प्रकाशित: १९ पुस २०७९ ०१:११ मंगलबार