उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन्।
सोमवार विश्व सहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताए।
उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरूका विचारहरूलाई समावेश गर्न आवश्यक रहेको धारणा राखे।मन्त्री सिंहले पुर्खाहरूले छोडेर गएको विरासतलाई सँगसँगै लगेर सहरी विकासका कामहरू गरेर विश्वलाई चिनाउनुपर्ने विचार व्यक्त गरे।
मुलुकको अर्थतन्त्र चलायमान हुने गरी सहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो।विश्वमा चलेको सहर विकासको ट्रेन्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा मन्त्री सिंहको जोड थियो।
प्रकाशित: १० मंसिर २०८१ १८:२८ सोमबार