१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

पर्यटन समितिले गर्‍यो त्रिभुवन विमानस्थलको अनुगमन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टासम्म बन्द गरिएको विषयमा स्थलगत अनुगमन गरेको छ।

समिति सभापति राजकिशोर यादवको नेतृत्वमा गएको संसदीय समितिका सदस्यको टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माणाधीन अवस्थाको अनुगमन गर्नुका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जानकारी लिएको छ। विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेल लगायत काम गरिरहेको छ। यस विषयमा संसदीय समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रबन्ध निर्देशकसँग जानकारी लिएको हो।

गत कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ।  निर्माणका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ। दैनिक १० घण्टा बन्द गर्दा पाँच महिना अवधिसम्ममा काम सकिने प्राधिकरणले जनाएको छ।

विमानस्थल दश घण्टा बन्द हुँदा यात्रुलाई जहाज टिकट महँगो तिर्न बाध्य भएको  प्रति समितिले ध्यानाकर्षण गरेको थियो। सांसदहरूले  टिकटको रकम घटाउनु पर्ने बताएका थिए। तर  प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने विमानस्थल बन्द नहुँदा ४८ वटा र बन्द हुँदा ४४ वटा विमान ल्यान्ड भइरहेको र भैरहवामा अहिले केही ल्यान्ड गर्ने गरिएकाले त्यो जोड्दा ४८ वटा कै संख्यामा ल्यान्ड भइरहेकाले यात्रुलाई कुनै असर नपरेको बताए। विमानस्थल बन्द  भएको बहानामा ट्राभल एजेन्सीले टिकट दुई घण्टा होल्ड गर्ने र महँगोमा टिकट बेचेकाले यस्तो समस्या आएको उनले बताए। यसलाई नियमन र नियन्त्रण गर्न  नसक्ने हो भने यात्रुले सधैं चर्को शुल्क तिरिरहनु पर्ने समस्या आउने उनले बताए।

अहिले निर्माणाधीन अवस्थामा रहेको विमानस्थलले आइकाओको स्टान्डर्डका मेन्टेन गर्ने र पाँच महिनाभित्र काम सम्पन्न हुने गरी काम भइरहेको आयोजनाको कन्स्ट्रक्सन इन्चार्ज दिपेन्द्र श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: १० मंसिर २०८१ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App