१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

सन्दीप लामिछाने।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ।  सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो।  

सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नहरेको दाबी गर्दै आएको छ।  तर, आरोपक किशोरी पक्षले भने उनी नाबालिग नै रहेको दाबी गर्दै आएको छ।  हालसम्म देखिएका प्रमाण र सन्दीप पक्षका वकिलहरूका अनुसार आरोपक किशोरीका फरक–फरक जन्ममिती देखिएका छन्।  

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्।  जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ।  तर, किशोरीको जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रका अनुसार भने उनको जन्म २०६२ जेठ १८ गते भएको देखिन्छ। जसअनुसार घटना भएको दिन उनको उमेर १७ वर्ष दुई महिना भएको देखिन्छ। यही विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको हो।  

मुलुकी अपराध(संहिता) ऐन २०७४ अनुसार १८ वर्ष भन्दा कम उमेर(नाबालिका)सँग सहमतिमै शारीरिक सम्बन्ध राखेको खण्डमा पनि ‘बलात्कार’ हुने मानेको छ।  ऐनको परिच्छेद १८ मा ‘करणी सम्बन्धी कसुर’को व्यवस्था गरेको छ।  जहाँ रहेको दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ,’ भन्ने व्यवस्था छ।  

सन्दीप पक्षका वकिलले यही व्यवस्थाअनुसार बच्न आरोपक किशोरीको जन्ममितिबारे बहस छेडेका हुन्।  यस्तै इजलासले किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि झिकाउने र क्रिकेटर देव खनाललाई पनि पनि बुझ्न आदेश दिएको छ।  खनालकै माध्यमबाट आरोपक किशोरी सन्दीपसँग जोडिएको बताइएको छ।  

क्रिकेटर सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै नाबालिक भनिएकी किशोरीका दाजुले भदौ २१ गते प्रहरी बृत्त गौशालामा जाहेरी दिएका थिए।  भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँ जानाजान रात पारेर ढिलो गरी काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर मध्यरातमा पटक–पटक जबरजस्ती करणी गरेको आरोप छ।  

त्यसपछि प्रहरीले भदौ २२ गते जाहेरी दर्ता गरेर अनुसन्धान थालेको थियो।  अनुसन्धानमा आरोपक किशोरी र सन्दीप उक्त राति सोही होटलमा बसेको पनि पुष्टि भएको थियो।  तर, सन्दीप भने त्यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए।  मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका सन्दीप नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपटि असोज २० गते नेपाल आएका थिए।  त्यसक्रममा प्रहरीले उनलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।  

यही क्रममा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा यो मुद्दामा थुनछेक बहस भएको थियो।  बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।  त्यसयता सन्दीप केन्द्रीय कारागार सुन्धारामा छन्।

प्रकाशित: १३ पुस २०७९ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App