coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक पिच गराउने उपाय तगारो

चाबहिल–थली–साखुखण्डको मूलपानी तिवारीटोलमा मंगलबार सडक पिच गर्न माग गर्दै तगारो राखेर गरिएको अवरोध। तस्बिर: उपेन्द्र/नागरिक

दृश्य १ 

७ वर्षदेखि विभिन्न बहानामा पिच नभएको भन्दै मंसिरको अन्तिम साता थलीवासीले सडकमा तगारो हाले। पिच नगरिएको विरोधमा मूल सडकमा तगारो हालेर सवारी रोकेपछि जनप्रतिनिधि, ठेकेदार र राज्य संयन्त्र सबैले चासो देखाए। तीन दिनसम्म जारी अवरोधका कारण सबै क्षेत्र प्रभावित बन्यो।

दृश्य २ 

सर्वसाधारणको अवरोधपछि ठेकेदार पक्षले पिच गर्ने वाचा गर्‍यो। तर सर्वसाधारणले पत्याएनन्। विगतमा पनि यस्तै वाचा गरेर पिच नगर्ने गरेको उनीहरूको अनुभव थियो। जति प्रयास गर्दा पनि सर्वसाधारणले सडक अवरोध नखुलाएपछि सडकको एक लेन पिच सकिएको छ। ७ वर्षदेखि नभएको पिच ४ दिनको बन्दले गरायो।

दृश्य ३ 

थलीका सर्वसाधारणले सिकाएको तरिका केही वर मूलपानीवासीले नसिक्ने कुरै भएन। सडक अवरोधपछि थलीको पिच गर्ने उही ठेकेदारले केही वरको तिवारी टोलनजिकको सडकखण्डचाहिँ धुलाम्ये अवस्थामै छाडेपछि उनीहरू आन्दोलित बने। मंगलबार बिहानैदेखि उनीहरूले पनि सडकमा तगारो हालेर अवरोध गरेपछि यस क्षेत्रको सवारीसाधन आवागमन प्रभावित बन्यो।

‘अवरोध नगरी काम बन्दो रहेनछ,’ तिवारी टोलका भीष्म दाहालले भने, ‘हाम्रा कुरा कसैले नसुनेपछि हामी पनि सडक बन्द गर्न बाध्य भयौं।’ बन्द, अवरोधको कुरा चाँडो सुन्ने तर सर्वसाधारणका आवाजचाहिँ नसुन्ने सरकारी रवैया दुःखदायी भएको उनले सुनाए। ‘यो त सर्वसाधारणलाई अवरोध गर भन्ने शिक्षा दिएको जस्तो लाग्यो,’ उनी थप्छन्, ‘अहिले हामी त्यही बाटोमा छौं।’ बिहान ७र८ बजेदेखि नै सडक अवरोध गरे पनि अपराह्न ४ बजेसम्म सरोकारवाला निकाय सम्पर्कमा नआएको दाहालले जानकारी दिए।

सडक अवरोधमा ओर्लेका सर्वसाधारणले केही दिन अगाडिको थलीको सबै घटना नजिकैबाट नियालेको उनी सुनाउँछन्। चाबहिल-साँखु सडक खण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोर्टछेउ उकालोसम्मको करिब ३ सय मिटर बाटो लामो समयदेखि पिच भएको थिएन। वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीयले निकै समस्या झेल्दै आएका थिए।

पिचका लागि बारम्बार अनुरोध गर्दा पनि समस्या नसुनिएकाले त्यहाँका सर्वसाधारण बाध्य भएर अवरोधमा उत्रेका थिए। ठेकेदार र राजनीतिक दलको कमिसनको खेलमा सर्वसाधारणले वर्षौंदेखि धुलो खान बाध्य भएको उनीहरूको बुझाइ छ।

‘आखिर पिच हुँदो रहेछ त,’ स्थानीय रमेश सिंखडाले भने, ‘किन जनतालाई बन्द हड्तालको जस्तो बाध्यकारी बाटो रोज्न प्रेरित गरेको?’ जनता अवरोधमा उत्रिएपछि उनीहरूको मुख टाल्न मात्र काम हुने गरेको उनको बुझाइ छ।

मूलपानी तिवारी टोलका सर्वसाधारणले पनि ७ वर्षदेखि थलीको जस्तै समस्या भोग्दै आएका छन्। बस्ती क्षेत्रका ५ सय मिटरभन्दा कम दुरीका सडक लामो समयदेखि पिच नहुँदा सो क्षेत्रका बुढापाकादेखि बालबच्चासम्म धुलो र हिलोबाट पीडित छन्। यो यस क्षेत्रको मात्र समस्या होइन, चाबहिल-साँखु सडकखण्डमा अझै पनि थुप्रै ठाउँमा विभिन्न बहानामा पिच हुन बाँकी रहेको छ। जसकारण यो क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण समस्यामा छन्। ‘घरभित्रको कोठामा समेत धुलो आउने गरेको छ,’ स्थानीय निमा शेर्पाले भने, ‘त्यही भएर हामी विरोधमा निस्कन बाध्य भयौं।’ मूल सडकबीच यसरी पिच छुटाउँदा विभेद गरेको महसुस भएको उनले बताए। ‘जनतालाई हेपेर गरिएको लापरबाही हो यो,’ उनले भने, ‘यसबारे सरोकारवाला निकाय गम्भीर हुनुपर्छ।’

उनले भनेजस्तै जनताको समस्या नसुन्दा मुलुकका विभिन्न भागमा विभिन्न बहानामा सडक अलपत्र पर्ने गरेका छन्। बजेट निकासा भइसकेका काम पनि विभिन्न स्वार्थले रोकिने गरेको छ। ‘अवरोधले बाटो पिच हुन्न भन्ने सन्देश मूलपानी हुँदै देशैभर फैलन सक्छ,’ सिंखडा थप्छन्, ‘सरकार यसमा बेलैमा सचेत हुन जरुरी छ।’

यसैबीच, काठमाडौं सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीले बज्रगुरु/बिरुवा खानी जेभीको नाममा पत्र काट्दै चाबहिल-साँखु सडक खण्डको निर्माण प्रगतिबारे विवरण मागेको छ। उसले थली बजारमा एक लेन मात्र पिच गरेर छाडेको र कागेश्वरी मनोहरा नगरपालिका एवं स्थानीयसँग गरेको प्रतिबद्धताअनुसार तीन दिनभित्र कालोपत्रे तथा निर्माण सुरु गर्न निर्देशन दिएको छ। ‘तोकिएको समयमा काम नगरे ठेकेदार कम्पनी जेभीको नाममा रहेको बैंक ग्यारेन्टी जफत गरी ठेक्का सम्झौताबमोजिम कारबाही गरिने काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ।  

प्रकाशित: ६ पुस २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App