coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पार्किङ विवादले अनामनगरमा तनाब

काठमाडौंको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ। काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधरण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो। यता महानगरीय प्रहरी भने सडकपेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ। महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालत भएका थिए। महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ। ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए,’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो।’ महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ।

अनामनगरस्थित सिंहदरबारको पूर्वीगेटअगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्। विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिए। निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन्। महानगरीय प्रहरीले भने सर्वसाधारणको आगमनमा अवरोध पुग्नेगरी पार्किङ गरेर राखिएका ९ वटा मोटरसाइकल उठाएको जनाएको छ। पार्किङ अनुमति नभएका, सडक र सडक पेटीमा राखिएको मोटरसाइकल उठाएर बग्गीखानामा लैजान खोज्दा केहीबेर तनाव भएको महानगरीय प्रहरीले जनाएको छ।

महानगर प्रहरीलाई स्थानीयले जान नदिएपछि नगर प्रहरी राजु पाण्डेसहितको थप प्रहरी बल अनामनगर क्षेत्रमा पुगेको थियो। काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्सा पास गरेको देखाउनुपर्ने नगरप्रहरी राजु पाण्डेले बताए। ‘हामी पार्किङ व्यवस्थापनमा लागेका छाैं,’ उनले भने, ‘यो ज्यादती नभएर पैदलयात्री र सर्वसाधारणको आगमनको सहजताको लागि चालिएको कदमको निरन्तरता हो।’

प्रकाशित: ४ पुस २०७९ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App