१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?

बाच्छेबुडुवामा रोकियो, नयाँ ठाउँ थाहा छैन

पोखराको न्यूरोडमा मुल सडकछेउमै थुपारिएको फोहर। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ। पोखरा–१४ बाच्छेबुडुवास्थित ल्याण्डफिलसाइटमा अहिलेसम्म पोखरा महानगरले सहरको फोहाेर व्यवस्थापन गर्दै आएको थियो। पोखरा महानगरपालिकाले विगत १७ वर्षदेखि त्यहाँ फोहाेर व्यवस्थापन गरिरहेको थियो।

तर, आगामि जनवरी एकदेखि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि महानगरले बाच्छेबुडुवामा फोहाेर फाल्न रोकेको हो। ल्याण्डफिलसाइट र विमानस्थलको दूरी करिब दुइकिलोमिटरको क्षेत्रभित्र पर्छन। फोहाेरका कारण ल्याण्डफिलसाइमा चरा आकर्षित हुने र त्यसले गर्दा विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा जोखिम हुने विज्ञहरुले बताइरहेका छन्। चराको जोखिम कम गर्नकै लागि ल्याण्डफिलसाइट व्यवस्थापन गर्नुपर्ने बाध्यता आइपरेको थियो। हालसम्म फोहाेर थुपारिरहेको ल्याण्डफिलसाइटमा फोहाेर फ्याक्न रोकेर माटोले पुर्न थालेपछि चरा आकर्षण कम हुने र त्यसले विमानस्थल संचालनमा सहज हुने अनुमान पोखरेलीको छ।

महानगरले बाच्छेबुडुवामा फोहर फ्याक्न रोकेपछि सहरको फोहाेर कहाँ र कसरी व्यवस्थापन हुने भन्नेमा अन्योल सिर्जना भएको छ। महानगरका प्रमुख धनराज आचार्यले तत्कालका लागि फोहाेरको व्यवस्थापन गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको बताए।  केही समयका लागि ती स्थानमा फोहाेर व्यवस्थापन गरिने उनले बताए। फोहाेर फालिसकेपछि पुर्ने र दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्र स्थापना गर्ने पनि तयारी भइरहेको मेयर आचार्यले जानकारी दिए। प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पबारे छलफल भइरहेको उनले बताए।  

विभिन्न मुलुकमा फोहाेरबाट बायोग्याँस, विद्युत, प्रांगारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत सामाग्री समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने तयारी गरिरहेको महानगरपालिकाले जनाएको छ।  

‘विमानस्थल आगामि जनवरी १ मा सुरु हुँदैछ। विमानस्थल संचालनमा बाधक मानिएको रिट्टेपानी डाँडा कटान, पानी ट्यांकी व्यवस्थापन र ल्याण्डफिलसाइट मुख्य चुनौती थिए,’ मेयर आचार्यले भने, ‘तर, अब व्यवस्थानपन हुँदैछ।’ उनका अनुसार अहिलेसम्म रिट्टेपानी डाँडाको आधाभाग काटिएको छ। अबको एकसातामा डाँडा काटिनेछ। डाँडा कटानबाट निस्केको माटो पनि व्यवस्थापन भइरहेको छ। खानेपानी ट्यांकीको उचाई बढाउने वा के गर्ने भन्ने हो, अहिले त्यसमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले सुनाए।  

ल्याण्डफिलसाइटका लागि फोहर प्रशोधन केन्द्र बनाउने गरि वातावरणीय अध्ययनको काम भइरहेको मेयर आचार्यले बताए। चारमहिनाभित्र प्लान्ट स्थापना गर्नेगरि यो साताभित्र प्रस्ताव आव्हान गर्ने तयारी भएको आचार्यले बताए। उनले शनिबारदेखि नै ल्याण्डफिलसाइटमा पोखराको फोहर पठाउन बन्द गरेको जानकारी दिए। ‘अहिले ठुला एक्साभेटरले रिट्टेपानी डाँडाको माटो ल्याएर ल्याण्डफिलसाइट पुर्ने काम भइरहेको छ,’ उनले भने, ‘रिट्टेपानी डाँडाको माटो ल्याएर पुर्ने काम भइरहेको छ।’

बाच्छेबुडुवामा फोहाेर खसाल्न रोकेपछि सहरको फोहाेर कहाँ व्यवस्थापन गर्ने भनेर महानगरले भन्न सकेको छैन। तर, विभिन्न ६ ठाउँमा अल्पकालिन रुपमा फोहर व्यवस्थापन गर्ने मेयर आचार्यले दाबि गरे। ती ६ वटा ठाउँको नाम भने मेयर आचार्यले खुलाएनन। ‘ठुलो क्षेत्रफलमा खनेर होस वा खोंचमा फोहर व्यवस्थापन हुन्छ । नयाँ ठाउँ अझै खोज्दैछौ। जहाँको तही बिसर्जन गर्ने प्रयास हो,’ उनले भने, ‘यो अल्पकालिन व्यवस्था हो। दीर्घकालिन व्यवस्थाका लागि सजग छौ।’  

यसअघि नै  जनवरी १ सम्म पोखराको ल्याण्डफिलसाइट कुनै हालतमा पनि व्यवस्थापन गरिसक्ने भनेर महानगरले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग प्रतिवद्धता जनाएको थियो। ‘जनवरी १ अघि जुनसुकै हालतमा पनि हामीले फोहर व्यवस्थापन गर्छाै भनेका हौ। पोखराको यो विमास्थलका लागि गर्नुपर्ने तयारीमा पुरा भएको छ,’ उनले भने।  

महानगरका मेयर आचार्यले बाच्छेबुडुवाको ल्याण्डफिलसाइटमा फोहाेर फाल्न रोकेर अन्य ६ ठाउँमा अल्पकालिन व्यवस्था भइरहेको बताएपनि ती ठाउँ कुन हुन भनेर अझै यकिन भइसकेको छैन। महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार अहिलेसम्म ६ वटा ठाउँ प्रस्ताव गरिएपनि ती नामबारे यकिन नभइसकेको बताए। तर, क्षेत्र अनुसार फोहाेर व्यवस्थापन गर्ने योजना अनुसारका ठाउँ रहेको उनले सुनाए। ‘लेखनाथ क्षेत्रको फोहर त्यही भेगमा व्यवस्थापन हुन्छ, हेम्जाको हेम्जातिरै रोकिन्छ, बरु समस्या बजारको हो। बजारको पनि कुनै न कुनै ठाउँमा व्यवस्थापन भइहाल्छ,’ उनले भने, ‘अब बाच्छेबुडुवामा भने फोहर खस्दैन। त्यहाँ पुर्न सुरु भएको छ।’  

उनले अल्पकालिन रुपमा व्यवस्थापन गर्ने ठाउँ यकिन नभएसम्म सहरको फोहाेर नउठ्न पनि सक्ने बताए। ‘जहाँजहाँ टुंगो लाग्दै जान्छ, त्यी ठाउँमा फोहर खसाल्न थालिन्छ। जताजता बाँकी रहन्छ, ती ठाउँका लागि पनि पहल भइरहेको छ,’ तिम्सिनाले भने, ‘ठाउँ टुंगो नलागेसम्म फोहर नउठ्न पनि सक्छ । तर, त्यो अवधि धेरैदिनका लागि रहन्न। एकदिन रोकिएपनि भोलिपल्ट ठाउँ यकिन भइहाल्छ।’  

पोखराले अहिले २ सय रोपनी क्षेत्रफलमा पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन गरिरहेको छ। पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहाेर संकलन गर्छ। दिनमा करिब एकसय टन फोहाेर ल्याण्डफिलसाइटमा फ्याक्ने गरिएको थियो। त्यसबाहेक अस्पतालबाट निस्कने थप सात टन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ।

प्रकाशित: ३ पुस २०७९ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App