बबइ (बर्दिया)– विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन सुरु गरेर २२ गतेभित्र पाँचवटा गैंडा बर्दिया पुर्याएरै छाड्यो । बर्दिया पुगेका पाँचमध्ये एउटा गैंडाले बच्चा जन्माएपछि त्यहाँ खुसीको माहौल छ ।
चितवनबाटै गर्भिणी गैंडा लगेका कारण बर्दिया निकुञ्जमा यति चाँडै बच्चा जन्मिएको हो। गर्भिणी गैंडा लैजानु ठिक या बेठिक भन्ने चर्चा चले पनि निकुञ्जका अधिकारीहरु ‘सुत्केरी’ गैंडाको स्याहार सुसारमा विशेष रुपले लागेका छन्। जेठ नौ गते गैंडाको आडमा बच्चा देखिएको थियो। अहिले सो गैंडा बर्दिया निकुञ्जको बबई क्षेत्रको गुठी पोष्ट नजिक बस्दै आएको छ ।
गैंडाले कलिलो घाँस खाने गर्छ। केही अग्लो बोट भेल्लरको फल गैंडाको स्वादिलो खाना हो। यसलाई गैंडाको स्याउ पनि भन्ने गरिन्छ। गैंडाले बच्चा जन्माएको खबर पाएसँगै गुठी पोष्ट वरपर भेल्लरको फल लगेर राखिएको छ। ‘निकुञ्ज मुख्यालय रहेको ठाकुरद्वार क्षेत्रबाट दुई ट्रयाक्टर भेल्लरको दाना गुठी पोष्ट वरपर गैंडाको चरन क्षेत्रमा राखेका छौं’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले भने। गैंडाले रुचाउने फल भए पनि बबई क्षेत्रमा भेल्लरका रुख भेटिँदैन । राजमार्गदेखि तल रहेको बर्दिया निकुञ्जको दक्षिणी खण्डमा भेल्लर प्रसस्तै छ। त्यसैले बबईका लागि ठाकुरद्वारबाटै भेल्लरको दाना लगेको थापाले बताए। यो पटक स्थानान्तरण गरेर गैंडा लैजानुअघि बर्दिया निकुञ्जको दक्षिणी क्षेत्रमा मात्रै २९ वटा गैंडा थिए। यी बाहेक विभिन्न समयमा गरेर चितवनका ८३ वटा गैंडा स्थानान्तरण गरेर बर्दिया लगिएको थियो।
बर्दिया लगिएकामध्ये ७० गैंडा बबई क्षेत्रमा मात्रै छाडिएको थियो। तर विस २०६५ सालमा त्यहाँ कुनै गैंडा भेटिएनन् । त्यसैले चितवन निकुञ्जका गैंडा बर्दिया फेरि लैजाने तयारी सुरु भएसँगै चितवनमा विरोध भएको थियो। तर बबइको अवस्था पहिलाको जस्तो नभएको प्रमुख संरक्षण अधिकृत थापाले बताए। त्यो बेला सुरक्षा अवस्था कमजोर भएका कारण चोरी सिकारीले गैंडा मारेका थिए।
‘पहिला उत्तरी विन्दु रत्नराजमार्गको चेपाङ भन्ने ठाउँ नजिक पोष्ट थियो। त्यसपछि दक्षिणी विन्दु महेन्द्रराजमार्गको परेवा ओडारमा पोष्ट थियो। योबीचमा पर्ने ४६ किलो मिटर दूरीमा कतै पोष्ट थिएन। त्यसैले गैंडा चोरी सिकारीको निसानामा सजिलै परे’, प्रमुख संरक्षण अधिकृत थापाले भने। अहिले चेपाङ र परेवा ओडारका साथैबीचमा पनि सेनाका पोष्टहरु छन्। बबईमा नौवटा सुरक्षा पाष्टहरु रहेको उनले बताए।
पहिले चितवनबाट ल्याइएकामध्ये ३६ वटा गैंडा चोरी सिकारीले मारेको प्रतिवेदन सरकारी छानबिन टोलीले विंस २०६५ सालको चैत्र ५ गते सार्वजनिक गरेको थियो। चोरी सिकारीका कारण मात्रै नभएर वासस्थान व्यवस्थापनमा पनि कमजोरी देखिएको थियो।
अहिले बबइमा छ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरेको प्रमुख संरक्षण अधिकृत थापाले बताए। त्यस्तै पानीका लागि १२ वटा ताल र घोल तयार गरेको उनको भनाइ छ । समुदायमा पनि संरक्षण प्रति धेरै चेतना बढेको छ । चितवनबाट ल्याएका गैंडालाई सेटेलाईट कलर जडान गरेर छाडेका कारण ति गैंडा कहाँ छन अनुगमन गर्न सजिलो भएको थापाले बताए ।
‘निकुञ्ज मुख्यालयमा बसेर हामीले पनि गैंडाको अनुगमन गर्न सक्छौं । यसका साथै फिल्ड लेवलमा पनि एउटा टोली अनुगमनका लागि छ । त्यस बाहेक पोष्टहरुले पनि गैंडाको सूचना लिइ राख्नु पर्छ । सेटेलाइट कलर राखेका कारण गैंडा कहाँ पुग्यो भनेर थाहा पाउन सजिलो भएको छ’, थापाले भने। स्थानान्तरण गरेका सवै गैंडा सक्रिय भएर आहार खोज्ने गरेका छन्।
‘कुनै गैंडा सिग्नलमा नदेखिए तत्कालै मेसो लागेर खोज्ने गर्छौ । अहिलेसम्म त्यसरी सिग्नल बाहिर (गैंडामा बाँधिएका सेटेलाइट कलरबाट अनुगमनकर्ताले बोक्ने उपकरणसम्म आउने संकेत) गएका छैनन्’, थापाले भने। चितवनबाट लगेका गैंडा चेपाङ पोष्ट, सोतखोला पोष्ट, गुठी पोष्ट, शिवपुर र ठुलो श्री पोष्ट वरपर बस्ने गरेका छन् ।
गैंडाको रुचीकर फल भेल्लर उम्रिन पनि सजिलो छैन। गैंडाले फल खाएपछि दिशामा मिसिएर आउने बीयाँ मात्रै अंकुराउन सक्छ। त्यसैले सुत्केरी गैंडाले स्वादीले खाना पनि पाउने र बिरुवा पनि उम्रने भएका कारण ट्रयाक्टरबाटै फल ओसारेको अधिकारीहरुले बताएका छन्। बबई क्षेत्रमा केही हुर्केका भेल्लरका विरुवा पनि रोपिएको छ ।
बच्चासँगै भेल्लरका विरुवा पनि हुर्कँदै जाने अवस्था छ।
चितवनबाट तत्काल पाँचवटा गैंडा लगिए पनि अझै २० गैंडा लैजाने सरकारको निर्णय छ। अहिले लगेका गैंडाबाट सकारात्मक प्रभाव देखिए र पहिला लगेका जस्तो ननासिए मात्रै दोस्रो पटक गैंडा लैजाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उच्चअधिकारीहरुले बताएका छन् । त्यसैले बर्दियाका निकुञ्ज अधिकारी र स्थानीय गैंडाको स्यहारमा विशेष रुपले खटेका छन् ।
प्रकाशित: ९ असार २०७३ ०५:१३ बिहीबार