१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनका ‘दुर्गम’ वडा केन्द्र जोड्न पक्की सडक योजना

चितवन सुगम जिल्लाका रूपमा चिनिन्छ । तर यही जिल्लामा अति विकट क्षेत्र पनि छन् । इच्छाकामना गाउँपालिकाको अधिकांश वडाको मुकाममा पनि अझैसम्म सडक कालोपत्रे समेत हुन सकेको छैन । 

यसलाई मध्यनजर गर्दै इच्छाकामनाले प्रत्येक वडाको मुकाममा सडक कालोपत्रे गर्ने तयारी गरेको छ । अहिले सबै क्षेत्रमा सडक सञ्जाल पुर्‍याउन नसके पनि वडाको मुकाममा कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार वडा कार्यालयको मुकाम केन्द्रित सडक कालोपत्रे गर्न १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यस गाउँपालिकामा सात वटा रहेका छन् । वडा कार्यालय रहेका हात्तिवाङ, हपनी, चुम्लिङटार, कुरिनटार, मुग्लिन, जलवीरे र सिमल ताल क्षेत्रमा कालोपत्रे गरिनेछ । ‘केन्द्र सरकारले पनि प्रत्येक वडाका केन्द्रमा कालोपत्रे गर्ने नीति ल्याएको छ । हामीले पनि ल्याएका छौँ’, उनले भने ‘अन्य क्षेत्र नसके पनि वडाका केन्द्रहरूमा कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरेका छौँ ।’

इच्छा कामना–१ को हात्तिवाङदेखि धादिङको सिमानासम्म सडक कालोपत्रे गर्ने गरी तीन करोडको बजेट विनियोजन गरिएको छ । त्यस क्षेत्रमा अघिल्लो वर्ष १ करोड रुपैयाँको काम भइसकेको उनले बताए । वडा नम्बर–२ मा काउलेको तल्लो र माथिल्लो क्षेत्रमा पक्की ढलान हुँदै छ । यहाँ गत वर्ष ३ करोडको काम भइसकेको छ । यस वर्ष डेढ करोड बजेट विनियोजन गरिएको छ । 

वडा नम्बर–३ को चुम्लिङटार क्षेत्रका लागि पनि ३ करोड विनियोजन गरिएको उनले बताए । पृथ्वी राजमार्गसँग जोडिएको यस क्षेत्रमा भित्री सडकमा कालोपत्रे गरिने छ । गाउँपालिकाको कार्यालय समेत रहेको वडा नम्बर–४ को कुरिनटारमा समेत भित्री सडकका लागि बजेट विनियोजन गरिएको उनले बताए । 

वडा नम्बर–५ को मुग्लिन बजारदेखि तामिनसम्मको सडक पक्की गर्ने योजना गाउँपालिकाको छ । चण्डिभञ्ज्याङको एकराङ र चनौटेको सडक पक्की गर्न तयारी छ । यहाँ गत वर्ष २ करोडको काम भइसकेको छ । यस वर्ष १ करोड बजेट विनियोजन गरिएको उनले बताए । गाउँपालिकाको कार्यालयदेखि सबैभन्दा टाढाको दूरीमा रहेको वडा नम्बर–७ मा पनि ३ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ । यहाँ गर्दासदेखि कालिका नगरपालिका जोड्ने सडक कालोपत्रे गरिने छ । 

गाउँपालिकाको यस नीतिले वडा कार्यालय क्षेत्र भए पनि कालोपत्रे हुने वडा नम्बर–१ का वडा अध्यक्ष सन्तबहादुर मगर बताउँछन् । ‘इच्छा कामना गाउँपालिकाको वडा नम्बर–१ हात्तिवाङमा सडकको ट्र्याक खोलिएको डेढ दश नाघ्यो । पृथ्वी राजमार्गबाट १४ किलोमिटरको दूरीको यस सडक अहिलेसम्म पिच हुन सकेको छैन’, उनले भने , ‘अहिले भए पनि वडा मुकाममा पिच हुँदै छ ।’ 

सडक पिच भएपछि किसानहरूलाई समेत धेरै फाइदा हुने बताए । ‘हाम्रो क्षेत्रमा तरकारीको पकेट क्षेत्र नै हो । यहाँ सुन्तला समेत हुन्छ’, उनले भने, ‘हाम्रो वडादेखि शक्तिखोर पुग्न समेत नजिक छ । पिच हुने हो भने भरतपुर जानसमेत सहज हुन्छ ।’

प्रकाशित: २९ कार्तिक २०८१ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App