९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

फाइल तस्वीर

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो। जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन। आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्यांकीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महांकालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्यांकीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुर र बाँसबारीका ट्यांकीमा चार दिनमा पानी पुग्ने उनले सुनाए। चार दिनमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्नेछ।

मेलम्ची खानेपानी आयोजनाले भने मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले बताए। सुरुङ सफा गरेर मंसिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेकाले सडकमा पानी जाने समस्या पनि भइरहेको छ। त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ। रासस

प्रकाशित: २८ मंसिर २०७९ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App