coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई एसपी मुख्यालय तानिए पनि घटेन मधेश प्रदेशमा तस्करी

नेपाल प्रहरीले पर्साको टिहुकी नाकाबाट शख्खर र गहु बोकेर आएको ट्याक्टर बुधबार पक्राउ गरेको हो। तस्बिर: मदन ठाकुर

मधेश प्रदेशका दुई जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी केन्द्रमा तानिए पनि तस्करी घटेको छैन। प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सकिएको करिब तिन हप्ता बित्न लाग्दासमेत पर्सादेखि रौतहटसम्म खुलेआम तस्करी भइरहेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष टोलीले पर्साको छिपहरमाई गाउँपालिका २ टिउकीबाट २३० क्वीन्टल गहुँसहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोली समेतको सहकार्यमा प्रदेश प्रहरी कार्यालयको टोलीले इन्जिन छाडेर भागेका थप दुई ट्रयाक्टर पनि नियन्त्रणमा लिएको छ। ट्रयाक्टरबाट ८० क्वीन्टल सख्खर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले इन्जिन भएको ना २ त ४०३६ नम्बरको सोनालिका ट्रयाक्टर र इन्जिन नभएको दुई ट्रेलर नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको जानकारी दिएका छन्। पक्राउ परेका सबै सामग्रीको मूल्य १५ लाख रुपैया कायम गरी भन्सार चलान गरिएको छ। ठूलो परिमाणमा तस्करीको सामान बरामद भएपछि पर्सामा खुलेआम तस्करी भइरहेको पुष्टि भएको हो।

यसै गरी पर्साको बिरगन्ज बिओपिले बिरगन्ज मनपा १४ पावरहाउस चौक बाट गत १८ मंसिरमा  ना ४ ख ९४३५ नम्बरको ट्रक बिलमा फरक परेको सामान देखेपछि राजस्व कार्यालय पथलैया पठाएको थियो। यसै गरी १९ मंसिरमा ना ३ ख ७०५२ नम्बरको ट्रकमा लोड भएको सामान  बिरगन्ज १५ प्रतिमा चौकबाट नियन्त्रणमा लिएर अनुसन्धानको लागि पथलैया पठाएको थियो सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

पर्सादेखि सर्लाहीसम्म नियमित रुपमा सीमा वारपार तस्करी भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र एसपी उद्धव रावलको नेतृत्वमा मार्शल टोली खटाई तस्करीबारे स्थलगत अनुसन्धान गरेको थियो। मार्शल टोलीको प्रतिवेदनको आधारमा मुख्यालयले सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा हेडक्वार्टरका गणपति एसपी राजेन्द्र थापा र १३ नम्बर गण पर्सा हेडक्वार्टरका गणपति तेजप्रताप पोखरेललाई मुख्यालयमा तानेको थियो।

सशस्त्र प्रहरीका दुई एसपी तानिए पनि पर्सादेखि रौतहटसम्म खुलेआम तस्करी भइरहेको छ। सीमा आसपासबाट खेतीको लागि मलखाद ल्याउँदा दुःख दिने सशस्त्र प्रहरीले तस्करीलाई रोक्न नसकेको देखिएको छ।

अहिले पर्साको सिक्टा भिस्वा, बुरगाइ, टिहुकी, अमरपटी, भेलाही, जानकी टोला, भोरे, खेसराहा, सबैठवा लगायतका नाकाबाट तस्करी भैरहेको छ। पर्साको टिहुकी नाकाबाट दैनिक १० देखि १५ ट्रयाक्टर सामान तस्करी हुने गरेको स्थानीयको भनाइ छ। पर्साको विभिन्न नाकाबाट तस्करी भइरहँदा बारा पनि अछुतो छैन। रौतहटको बङ्कुल, मठिया, रामपुर खाप, लक्ष्मीपुर बेलबिछवा नाकाबाट पनि तस्करी भइरहेको छ।

तस्करीबारे जानकारी पाए लगतै मधेश प्रदेश सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले पर्सा नाकाबाट भएको तस्करीबारे गम्भिरताका साथ लिएको बताएका छन्। पर्साको जुन एरियाबाट तस्करीको मालसामान ओहोरदोहोर भएको जानकारी आएको छ, सबै युनिट इन्चार्जलाई बाहिनीमै तानेर कारावाही गर्ने प्रतिक्रिया दिएका छन्।तस्करी नियन्त्रणको लागि आफू पूर्णतया प्रतिबद्ध रहेको सशस्त्र डिआइजी ठाडा मगरको दाबी रहेको छ।

प्रकाशित: २२ मंसिर २०७९ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App