१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराले अझै भेटेन फोहर फ्याक्ने ठाउँ

तत्कालका लागि वडास्तरमै व्यवस्थापन गर्छाैः महानगर

पोखरा महानगरले फोहर व्यवस्थापन गरिरहेको पोखरा–१४ बाच्छेबुडुवाको ल्याण्डफिलसाइट। फाइल तस्बिरः नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनावरी एकदेखि संचालनमा ल्याउने हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी छ। त्यही तयारी अनुसार यान्त्रीक परीक्षण (क्यालिब्रेसन फ्लाइट) पनि भइसकेको छ। क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि व्यवसायिक उडानका लागि परीक्षण हुनेछ। तर, विमानस्थल संचालनको मुख्य बाधक मानिएको पोखराको ल्याण्डफिलसाइट स्थानान्तरणको समस्या भने अझै सुल्झेको छैन। ल्याण्डफिलसाइट स्थानान्तरण महानगरका लागि सकसपूर्ण बनेको छ।

पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिहेको पोखरा–१४ को बाच्छेबुडुवाको ल्याण्डफिलसाइट कहाँ सार्ने भन्नेबारे नयाँ ठाउँको टुंगो अझै लगाइसकेको छैन। प्राधिकरणले विमानस्थल संचालनको दिन तोकेपछि महानगरले मंसिर १८ गतेसम्मका लागि मात्र बाच्छेबुडुवामा फोहर फाल्ने भनेको थियो। तर, त्यो समय घर्किसकेपनि नयाँ ठाउँको टुंगो लगाउन महानगरले सकेको छैन। विमानस्थल बनाउनै थालेदेखि महानगरलाई फोहाेर व्यवस्थापनका लागि प्राधिकरणले भन्दै आएपनि अन्तिम अवस्थासम्म पनि महानगरले त्यसको टुंगो लगाउन सकेको छैन।  

विमानस्थलको करिब दुइकिलोमिटर क्षेत्रभित्र हाल संचालित ल्याण्डफिलसाइटका कारण चरा आकर्षित भएर विमानस्थलबाट हुने हवाई गतिविधिमा अवरोध पुग्नसक्ने विज्ञहरुले बताईरहेका छन्। तर, अहिलेसम्म ल्याण्डफिलसाइट कहाँ र कहिले सर्ने भन्नेबारे ठोस निर्णय महानगरले गर्न सकेको छैन। मंसिर १८ गतेदेखि बाच्छेबुडुवामा फोहर नखसाल्ने भनेपनि महानगरले अहिले पुरानै ठाउँमा फोहर झारिरहेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार प्राधिकरणले मंसिर ४ पछि बाच्छेबुडुवामा फोहर नझार्न महानगरलाई आग्रह गरेको थियो। तर महानगरले मंसिर १८ गतेसम्म बाच्छेबुडुवामै फोहर खसाल्ने र त्यसपछि रोक्ने भनेर समय मागेको थियो। तरपनि अहिले पुरानै ठाउँमा फोहाेर झारिरहेको भारतीले बताए। भारतीका अनुसार बाच्छेबुडुवाको ल्याण्डफिलसाइट पुर्ने जिम्मा प्राधिकरणको रहेको र प्राधिकरणले पुरेर नसकेकोले फोहर खसाउन नरोकिएको हो।  

‘हाल प्रयोगमा रहेको ल्याण्डफिलसाइट पुर्ने जिम्मा प्राधिकरणको हो। प्राधिकरणले माटो ल्याएर पुर्न सुरु त गरेको छ, तर अहिलेसम्म सकिएको छैन,’ उनले भने, ‘एकातिरबाट पुर्दै आएपनि महानगरले अर्काेतिर फोहर खसालिरहेको छ। पुरेर नसकेसम्म महानगरले बाच्छेबुडुवामै फोहर खसाल्छ। पुरेर सकेपछि भने अन्यत्र व्यवस्था हुन्छ। त्यसको गृहकार्य महानगरले गरिरहेको छ।’

महानगरले बाच्छेबुडुवामा फोहर फ्याक्न रोकेपछि सहरको फोहर व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने अझै टुंगो लगाउन सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत भारतीले बाच्छेबुडुवामा फोहाेर झार्न रोकेपछि सहरको फोहर वडास्तरमै व्यवस्थापन गर्ने तयारी भएको बताए। उनका अनुसार ग्रामिण भेगका वडामा व्यवस्थापनमा खासै समस्या छैन। सहरी क्षेत्रका वडामा समस्या हुन सक्छ।

‘हामीले सबै वडाका अध्यक्षसँग फोहर व्यवस्थापनको सम्भावनाबारे सुझाव लिँदा वडास्तरमै व्यवस्थापन सम्भव भएको भन्नु भएको छ,’ उनले भने, ‘सहरी क्षेत्रभित्रका वडालाई अलि कठिन हो। नत्र ग्रामिण भेगका वडाले सहजै व्यवस्थापन गर्न सक्छन। सहरभित्र दुर्गन्ध हुन्छ की भन्ने मात्र त्रास हो।’ भारतीका अनुसार वडाले करिब डेढ–दुइमहिनासम्म फोहर वडास्तरमै व्यवस्थापन गर्नुपर्ने हुन्छ।

महानगरले स्थायी रुपमा अहिलेसम्म फोहाेर कहाँ व्यवस्थापन गर्ने भनेर टुंगो लगाउन सकेको छैन। धरान र भारतका विभिन्न सहरको फोहाेर व्यवस्थापनको अभ्यास बुझेको महानगरले अहिलेसम्म कहाँ र कसरी स्थायी व्यवस्थापन गर्ने भनेर ठाउँ यकिन पनि गर्न सकेको छैन। यसअघि फोहाेर व्यवस्थापन गर्ने भनेर तोकिएको ठाउँमा स्थानीयले अवरोध गरेपछि महानगरले नयाँ ठाउँबारे बाहिर बताएको छैन। फोहर व्यवस्थापनका लागि तोकिएको नयाँ ठाउँबारे बताउँदा पुन अवरोध आउन सक्ने त्रासमा महानगर छ। 

प्रमुख प्रशासकीय अधिकृत भारतीले फोहाेरको स्थायी व्यवस्थापनका लागि विकल्पबारे छलफल भइरहँदा नयाँ जग्गा किन्ने योजना पनि बनाएको बताए। त्यसका लागि केही ठाउँको जग्गा पनि हेरिसकेको छ। जग्गा किनेर प्लान्ट राखेर फोहरको स्थायी व्यवस्थापन गर्ने योजना महानगरको छ। भारतीका अनुसार ६४ र १५० रोपनी क्षेत्रफलका दुइवटा जग्गा महानगरले हेरेको छ। तर, ती जग्गा कहाँ पर्छन भनेर समेत खुलाएको छैन।

‘बस्ती भन्दा टाढा, पहुँचयुक्त ठाउँ हुनुपर्ने र आवश्यक जग्गा एकैपटक खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एकैजनाको धेरै जग्गा नहुन सक्छ। त्यसैले सबैका टुक्रे जग्गा पनि खरिद गर्नुपर्ने हुन्छ। तर, यो काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने खरिद समितिले गर्नेछ।’ मुआब्जा दिएर जग्गा खरिद गर्नेगरि योजना बनाएको उनले बताए।

‘३/४ महिनाको प्रक्रिया पुरा भएपछि मात्र जग्गा हात पर्न सक्छ। त्यो अवधिसम्मका लागि कतै न कतै फोहर व्यवस्थापन नगरि सुखै छैन,’ उनले भने, ‘अब आफैले जग्गा किनेर फोहर व्यवस्थापन गर्ने योजना महानगरले बनाएको छ।’

महानगरले वडाभित्रको फोहर वडामार्फत नै व्यवस्थापन गर्ने भनेपनि त्यो सम्भव नभएको वडाध्यक्षले बताएका छन्। ‘सहरी वडाभित्र फोहर व्यवस्थापन गर्न सकिन्न। वडाले गर्ने सहयोग गर्छ, वडाभित्र फोहर व्यवस्थापन हुनै सक्दैन,’ एकजना वडा अध्यक्षले भने, ‘घना बस्ती र सहर भएकोले वडास्तरमा सम्भव हुँदैन।’

 ती अध्यक्षका अनुसार वडास्तरमा फोहर व्यवस्थापन गर्नका लागि खालि जग्गा कतै छैन। जग्गा भएपनि बस्तीको बीचमा फोहर थुपार्ने सम्भावना रहन्न। ‘फोहर व्यवस्थापनमा वडाको सहयोग रहन्छ। तर, महानगरले जिम्मा लिनुपर्छ। वडास्तरमै व्यवस्थापन गर्न कुनै हालतमा पनि सकिन्न,’ उनले भने।  

प्रकाशित: १९ मंसिर २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App