१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

भारतबाट गैरकानुनी रुपमा भित्र्याएको १० क्विन्टल केरा बरामद

कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानबाट गैरकानुनी रूपमा भित्र्याइएका करिब १० क्विन्टल केरा प्रहरीले बरामद गरेको छ।

शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजारस्थित न्यून आयरन फुड स्टोरमा गोदामभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले छापा मारेर ९ सय १२ केजी केरा बरामद गरेको हो। बरामद केराको अनुमानित मूल्य ९१ हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, कृष्णनगरमा सवारी साधन जाँचका क्रममा ८० केजी केरा बरामद गरिएको थियो। उक्त केराको मूल्य ८ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको छ। बरामद केरा आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

केही दिनअघि यशोधरा गाउँपालिका अन्तर्गत सीमा प्रहरी चौकी मर्यादपुरले पनि १ सय २० केजी केरा बरामद गरेको थियो।

केरामा लाग्ने ‘केआरफोर’ नामक रोगको जोखिम तथा स्वदेशी केरालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले भारतीय केराको आयातमा रोक लगाउँदै आएको छ। प्लान्ट क्वारेन्टाइन कृष्णनगरका प्रमुख राजेन्द्र यादवका अनुसार यस सम्बन्धमा मन्त्रालयबाट परिपत्रसमेत प्राप्त भएको छ।

बरामद केरालाई भन्सार परिसरमा गाडेर नष्ट गरिने कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णले बताए।

भारतीय केरा आयातमा रोक लगाएपछि कपिलवस्तुमा केराको मूल्य दोब्बरले बढेको छ। हाल केरा प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ। अभाव र बढी नाफाका कारण तस्करहरूले लुकिछिपी भारतीय केरा भित्र्याउने गरेका छन्। त्यही केरा अहिले कपिलवस्तुका अधिकांश बजारमा निर्बाध रूपमा बिक्री भइरहेको छ।

फलफूल व्यवसायीहरूका अनुसार नेपाली उत्पादनले मात्र बजारको माग धान्न सक्ने अवस्था छैन। त्यसैले निश्चित मापदण्ड बनाएर केराको आयातलाई केही खुकुलो बनाउनुपर्ने उनीहरूको माग छ।

यसैबीच, कृष्णनगरमा नेपालबाट भारततर्फ लैजाँदै गरिएका ६ वटा बाख्रा पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ४८ हजार रुपैयाँ मूल्य बराबरका ती बाख्रा कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App