हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन भएका छन्। रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका आठ पुरुष र दुई महिला गरी १० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए।
‘हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि उहाँहरूसँग सम्पर्क हुन सकेको छैन’, उनले भने।
खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन रहेका छन्। उमेश बोहोराकी श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन।
त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ स्थायी घर भएका ४१ वर्षीय नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन भएका छन्। शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत थिए।
सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हामी सुरक्षित छौँ’ भन्ने आशयको पोस्ट गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको उनले बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जानकारी दिए।
मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
प्रकाशित: ११ भाद्र २०८३ १०:३९ बिहीबार




-600x400.jpg)
