मध्यपूर्वमा हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारका लागि तय भएका १० वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गरेर आज (मंगलबार)का लागि निर्धारित विभिन्न वायुसेवाका १० उडानहरू रद्द गरिएको जानकारी गराएको हो।
कार्यालयका अनुसार कुवेत, दुबई, दोहा र दमामका लागि तय भएका उडानहरू रद्द भएका छन्। फ्लाइ दुबई र जजीरा एयरवेजको एक एक, कुवेत एयरवेज, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका दुई दुई उडान रद्द गरिएका हुन्।
प्रभावित उडानहरूमा काठमाडौं-कुवेत-काठमाडौं, काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दोहा-काठमाडौं जस्ता प्रमुख मार्गहरू समावेश छन्। हालको परिस्थितिमा उडान तालिका पुनर्निर्धारण वा थप रद्द हुन सक्ने सम्भावना पनि कायमै रहेको सूचनामा उल्लेख छ।
विमानस्थल प्रशासनले यात्रुहरूको असुविधा न्यूनिकरण गर्न सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको जनाएको छ। प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित एयरलाइन्सका वेबसाइट वा सम्पर्क नम्बरमार्फत जानकारी लिन अनुरोध गरिएको छ।
कार्यालयले परिस्थिति सामान्य हुनेबित्तिकै उडान सेवा पुनः नियमित गरिने स्पष्ट पारेको छ। हाल यात्रुहरूलाई यात्रा अघि उडान स्थिति यकिन गर्न विशेष आग्रह गरिएको छ।
प्रकाशित: १० चैत्र २०८२ १९:४४ मंगलबार




